काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत उहाँले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि सङ्घर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उहाँका ६१ वर्षीय बाबुले समेत ज्यान गुमाएको घटनाले मर्माहित बनाएको जनाउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “उहाँहरूको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो, न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु । यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छु ।”
नागरिकतालगायत लैङ्गिक आधारमा हुने कुनै पनि प्रकारको विभेद् र हिंसा सह्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले न्यायको मार्गमा सबै पक्षले सहजीकरण गर्न अपिलसमेत गर्नुभएको छ ।रासस










