१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ?



अ+ अ-

काठमाडौं । गत साताको बाढीपहिरो र डुबानबाट बढी प्रभावित पालिकाहरुलाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिन संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को अवस्था मूल्यांकन गरेर संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबारै सरकारसमक्ष सिफारिस गरेको थियो । सरकारले पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी र सुनकोशी गाउँपालिका तथा उदयपुरको बेलका नगरपालिका संकटग्रस्त क्षेत्र घोषित गरेको हो ।

यसैगरी धादिङको बेनीघाट रोराङ, नेत्रावती डबजोङ, गजुरी गाउँपालिका र धुनीबेसी नगरपालिका संकटग्रस्त क्षेत्रमा परेका छन् । दोलखाको गौरीशंकर, बिगु र शैलुङ गाउँपालिका, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, ललितपुरको महांकाल, वाग्मती, कोन्ज्योसोम गाउँपालिका तथा गोदावरी नगरपालिका पनि विपद् संकटग्रस्त क्षेत्र घोषित भएका छन् ।

रामेछापको मन्थली, रामेछाप, खाँडादेवी नगरपालिका तथा दोरम्बा शैलुङ, सुनापती, लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई सरकारले संकटग्रस्त घोषणा गरेको छ । काभ्रेपलाञ्चोकका रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका पनि संकटग्रस्त क्षेत्रमा परेका छन् । यस्तै, सिन्धुलीको गोलञ्जोर, सुनकोशी र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर र बकैया गाउँपालिका तथा चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका संकटग्रस्त घोषित छन् ।

आवश्यक स्रोतसाधन केन्द्रित गरेर संकटग्रस्त क्षेत्रमा राहत, पुन:स्थापना र पुनर्निर्माण लगायतका कामलाई द्रुतगति दिने सरकारले जनाएको छ ।

गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो मात्रामा जनधनको क्षति गरेको थियो ।

बाढीपहिरोमा परी २ सय ३९ जनाको मृत्यु भएको छ भने अझै १९ बेपत्ता छन् ।