सुन्दरबजार । कामको खोजीमा वैदेशिक रोजगारमा जान तम्सिएका जो कोहीलाई सहजै भन्ने गरिन्छ, आफ्नै देशमा केही गरे के हुँदैन ? विदेश नै जानुपर्छ र ? विदेशमा गर्ने श्रम नेपालमै गर्ने हो भने यहाँ पनि केही गर्न सकिन्छ नी । यो त बेरोजगारी समस्या नभोगेकाले वा राजनीति गर्ने र समाजसेवीहरुले भन्ने र दिने उपदेश मात्र हो ।
देशमा केही गर्न खोज्दाखोज्दै पनि केही सीप नलागेपछि हार खाएर गाउँका थुप्रै ऊर्जाशील युवा अहिले विदेशमा आफ्नो श्रम बेचिरहेका छन् । विदेशिएका जति सबैले भनेजस्तो गर्न त सकेका छैनन् तर पनि केहीले भने राम्रो प्रगति गरेका छन् । आफूले भोगेको जस्तै समस्या अरुलाई नहोस् भन्नका लागि विदेशमा नेपालीलाई सहज हुनेगरी व्यावसायिक काम पनि गरेका छन् । उद्यम गर्ने आफ्नो सोचलाई विदेशमा पुगेर कतिपय युवाहरुले साकारसमेत पारेका छन् ।
आफ्नै देशमा केही गर्छु भन्दाभन्दै यहाँको प्रशासनिक झन्झट र बेथितिका कारण थाकेर आजित भई विदेशिनेहरुको भीडका एक व्यक्ति हुनुहुन्छ गुमानसिंह कार्की । लमजुङको सुन्दरबजार नगरपालिका–८, घोक्रेश्वाँराका कार्कीले पोर्चुगल पुगेर गरेको सङ्घर्ष र मेहनतले अहिले ७५ जनाभन्दा बढीलाई रोजगार दिएको छ । उहाँले पोर्चुगलबाट सुरु गरेको व्यवसाय अहिले भारत हुँदै काठमाडौँसम्म विस्तार भएको छ । आफ्नो व्यवसायबाट यति धेरै व्यक्तिलाई रोजगार दिन पाएकामा नै उहाँ खुसी हुनुुहुन्छ ।
“नेपालमा नै केही गर्छु भन्ने सोच उहाँमा नआएको पनि होइन”, उहाँ भन्नुहुन्छ, “गणित र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नेक्रममै केही व्यवसाय गर्ने सोचमा थिएँ । तर भनेजस्तो नभएपछि विदेश जाने सोच बनाएँ ।” उहाँले आईए पास गरेपछि केही समय बोर्डिङ स्कूलमा शिक्षण कार्य गरे पनि त्यसले आफैँलाई पालिन मुस्किल देखेपछि २०५८ सालमा वैदेशिक रोजगारमा दुबही जानुभयो ।
विदेशमा रहँदा पनि उहाँलाई स्वदेशमै आएर केही गर्छु भन्ने हुटहुटीले छाडेन । त्यही अठोटले उहाँलाई स्वदेश फर्कायो र दोभान इन्टरनेशनल नामक पेस्टिसाइडको कारोबार गर्ने कम्पनी स्थापना गर्ने तयारीमा जुट्नुभयो । चीनबाट औषधि ल्याएर नेपालमा लेवलिङ गरी बिक्री गर्ने योजनाका साथ काम गर्न हरिहर भवनस्थित पेस्टिसाइड रजिस्ट्रेसन विभागमा जाँदा सात लाख रुपैयाँ घुस मागिएपछि हार खाएर त्यहीँ कागजपत्र च्यातेर फर्किनुभयो ।
यत्तिकैमा उहाँ निराश बन्नु भएन । युरोप जान पाए पैसा त कमाउन सकिन्थ्यो भन्ने सोच उहाँको मनमा पलायो । यसैअनुरुप सन् २०१३ को डिसेम्बरमा पर्यटक भिसा लिएर पोर्चुगल छिरेका उहाँ त्यहीँ कागजपत्र मिलाएर काम गर्न थाल्नुभयोे । शुरुआती दिनमा ठूलो सङ्घर्ष गर्नुपरेको कार्की बताउनुहुन्छ । सङ्घर्षले मानिसको जीवनमा सफलता ल्याउँछ भन्ने तथ्य उहाँको जीवनमा पनि लागू हुन्छ । उहाँलाई पनि लाग्ने गर्छ, “विदेशमा गरिएको जस्तै श्रम नेपालमा गर्ने हो भने यहीँको जीवन सरल र सहज छ । आफ्नै परिवेश राम्रो छ । यहीँंको संस्कृति सुन्दर छ ।”
सुरुका दुई वर्षसम्म उहाँले पोर्चुगलमा सुन्तला र ऐँसेलु टिप्ने काम गर्नुभयो । “काम गर्दागर्दै त्यहाँको सबै रहनसहन बुझेँ, परिवेश थाहा हुँदै गयो, मानिसले कस्तो दु:ख पाएका छन् भन्ने पनि देखियोे”, उहाँ भन्नुहुन्छ, “यसले मलाई पनि मेहनत गर्ने आँट जाग्यो । दु:खलाई अवसरका रुपमा लिन थालेँ ।” सुन्तला र ऐँसेलु टिप्ने काम छोडेर ‘युरोफिम्स’ नामक कम्पनीमा काम गर्न थाल्नुभयो । त्यहाँ थुप्रै नेपालीहरु काम गर्दथे । उहाँ पढेलेखेको हुनाले कम्पनीले मानव संशाधनको क्षेत्रको जिम्मेवारी दियो ।
कम्पनीमा राम्रै आम्दानी पनि थियो । तैपनि सधैँभरि अरुको काम गरेर मात्र आफ्नो प्रगति नहुने र क्षमतावान व्यक्तिले आफ्नै काम गर्नुपर्छ भन्ने कुरा राम्रैसँग बुझेका गुमानसिंहले सन् २०१७ को अन्त्यतिर थ्री स्टार कन्सल्टेन्सी नामक कम्पनी खोल्नुभयो । यस कम्पनीले पोर्चुगलभित्र रहेका दक्षिण एसियाका व्यक्तिहरुको डकुमेन्टेसनसम्बन्धी काम गर्दथ्यो । यसै कम्पनीमा काम गर्दा उहाँले दक्षिण एशियाका कामदारहरुले पाइरहेको दु:खलाई नजिकबाट अनुभव गर्ने अवसर मिल्यो ।
उनीहरुमध्ये धेरैले त्यहाँको भाषा, संस्कृति र कागजात मिलाउन नसक्दा लामो समयसम्म युरोप बस्ने सपना तुहाइरहेका थिए । लामो समय बस्दा पनि कागजपत्र मिलाउन नसकेर दु:ख पाएका दक्षिण एशियाका कामदारहरु देखेर उनीहरुको कार्यमा सघाउने योजना बनाउनुभयो । सोहीअनुरुप ‘ओला अमिगी कल्चर एण्ड ल्याङ्ग्वेज एशोसिएसन’ नामक कम्पनी स्थापना गरी पोर्चुगलको संस्कृति र भाषा सिकाउन थाल्नुभयो ।
उहाँको व्यावसायिक योजना यतिकैमा टुङ्गिएन । सन् २०१८ मा पोर्चुगलको ‘लिजवनमा थ्री स्टार एकाउन्टिङ’ नामक कम्पनी खोलीे व्यवसायसँग सम्बन्धित लेखापरीक्षणलगायत काम गर्नु थाल्नुभयो । उहाँको यो कम्पनी अहिले विस्तार भएर विशाल कम्पनी बनिसकेको छ । पोर्चुगलमा यसका दुईवटा शाखा छन् भने भारत र काठमाडौँमा पनि शाखा रहेका छन् । कम्पनीमा हाल २५ जना पूर्णकालीन र ५० भन्दाबढीले आंशिक रुपमा रोजगारी पाएका छन् । उहाँका अनुसार रोजगार पाउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली नै छन् ।
व्यवसायलाई अहिले श्रीमती र छोराहरुले पनि सघाउन थालेपछि अब उहाँलाई व्यवसायको खासै चिन्ता छैन । चिन्ता छ त केबल आफ्नो जन्मभूमि र आफ्नै देशको । त्यसैले त कार्की अहिले पैत्रृक थलोमा आएर फरक किसिमको सोचका साथ काम गरिरहनुभएको छ ।
विदेसिनेहरु उतै बस्छन् भन्ने आम बुझाइलाई चिर्दै उहाँले गाउँमा एउटा आवासीय भवन निर्माण गर्नुभएको छ । लमजुङको भोटेवडारबाट बेंसीसहर जाने बाटोबाट करिब दुई सय मिटर माथि एक करोड ५० लाख रुपैयाँको लगानीमा उहाँले बनाएको पर्यटकीय आवाससहितको भवनमा पारिवारिक शैलीमा आफैँ पकाएर खान, नाचगान, भजनकीर्तन गर्न सकिन्छ । माछापोखरी, पार्क अन्य आवश्यक सुविधासहित निर्माण गरिने उक्त स्थान पुरै पर्यटकीय परिवेशको हुने उहाँ बताउनुहुन्छ । कार्की विभिन्न सामाजिक संस्थाहरुमा संलग्न समाजसेवामा उत्तिकै व्यस्त देखिनुहुन्छ ।