१८ श्रावण २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउनेः प्रजिअ मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामाथि प्रचार प्रमुखको प्रश्न धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा



अ+ अ-

लिस्बन । पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन सङ्कलन गर्न विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको हो ।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन सुरु गरेको छ । सेवा सुरु भएसँगै शिविर वरपर रहेका सेवाग्राही नेपालीको घुइँचो लाग्न थालेको टोलीका प्रमुख एवं विभागका निर्देशक मोतिबहादुर श्रीसले राससलाई जानकारी दिनुभयो ।

शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी एक सय ८३ जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिएको छ ।

नयाँ राहदानी बनाउन छ हजारले अनलाइन आवेदन भरेकाले सोही सङ्ख्याको हाराहारीमा दरखास्त सङ्कलन हुने अनुमान गरिएको निर्देशक श्रीसले बताउनुभयो । समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएको बताउँदै तोकिएको दिन र समयमा अनिवार्य उपस्थित हुन उहाँले सेवाग्राहीलाई आग्रहसमेत गर्नुभयो ।

“अहिले राहदानी बनाउन अग्रिम आवेदन दिएकालाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । आवश्यकता र कामको चाप हेरेर कन्सुलरसम्बन्धी अन्य आकस्मिक र जरुरी सेवा दिने प्रयास गर्नेछौँ”, श्रीसले भन्नुभयो ।

दश दिनसम्म सञ्चालन हुने शिविर लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावास, गैरआवासीय नेपाली सङ्द्ध पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका छन् । टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीनजना कर्मचारी सहभागी छन् । टोलीले अगस्त ११ तारिख (साउन २७ गते)सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा दिनेछ ।

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।