२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

स्वरोजगार बन्दै बागलुङका युवा

स्वरोजगार बन्दै बागलुङका युवा
अ अ+ अ-

बलेवा । बागलुङको बरेङ गाउँपालिका–२ का नगेन्द्र थापाले केही महिना पहिला गाउँमा नै इन्टरलक इँटा उद्योग सञ्चालनमा ल्याउनुभयो । झण्डै रु १५ लाख खर्चेर उहाँले सञ्चालन गरेको इँटा उद्योगले उहाँ, उहाँको परिवार र गाउँका केही युवालाई समेत रोजगारी दिन शुरु गरेको छ । देशका ठूला शहर पस्ने वा विदेश जाने गाउँका अन्य युवाको लहडलाई चुनौती दिँदै थापाले सञ्चालन गरेको उद्योगले गाउँको विकासमा टेवा पुर्याउने आशा गरिएको छ । निजी लगानीमा सञ्चालनमा आएको उद्योगले दैनिक झण्डै रु एक लाखको कारोवार गर्छ । 

कोभिड–१९ का कारण प्रभावित भएका युवालाई राजगारीसँग जोड्ने भन्दै गाउँपालिकाले केही कार्यक्रमसमेत ल्याएको छ । महिला स्वरोजगार कार्यक्रम, युवालाई स्वरोजगार बनाउने कार्यक्रम र उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ । युवाको इच्छाशक्ति र स्थानीय सरकारको तारतम्य मिलाएर बरेङमा युवा उद्यमीहरुको विकास शुरु भएको छ । नगेन्द्र जस्तै बरेङमा कृषि, पशुपालन र साना उद्योगहरुमा पछिल्लो समय युवाहरुको आकर्षण छ ।

बरेङमा आलुखेती राम्रो हुन्छ । अलैँचीको व्यावसायिक खेती यहाँका किसानले शुरु गरेका छन् । जसमा युवाको आकर्षण छ । बाख्रा, भैँसीपालनका लागि बरेङ उत्तम ठाउँ हो । वार्षिक खशी बोका तथा पाडापाडीको बिक्री गरेर गुजारा चलाउनेको सङ्ख्या धेरै रहेको गाउँपालिकाका अध्यक्ष शर्मा बताउनुहुन्छ ।

कहिले कलाकारिता त कहिले पत्रकारिता हुँदै रोजगारीको क्रममा भारतका विभिन्न प्रदेशमा पुग्नुभएका जैमिनी नगरपालिका–७ जैदीका कमल राना यतिबेला माछापालनमा लाग्नुभएको छ । कालिगण्डकीको तिर नजिकै दुई वटा ठूला पोखरी निर्माण गरेर रानाले व्यावसायिक माछापालन थाल्नुभएको हो । “मैले नदेखेको रहेछु, अवसर र आम्दानी गाउँमै रहेछ”, रानाले भन्नुभयो, “अबको बाटो उद्यम नै हो ।” २६ वर्षीय राना जस्तै जैदीका धेरै युवाले पक्षीपालन, माछापालन, बङ्गुरपालन र नगदेबालीको खेतीलाई व्यवसाय बनएका छन् ।

“जैदीमा आलु राम्रो फल्छ, तरकारीबालीका लागि उत्तम स्थान हो”, जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्मा भन्नुहुन्छ, “पछिल्लो समय युवाले व्यावसायिक कृषिका कार्यक्रममा समेत चासो राख्न थालेका छन् ।” विदेशबाट फर्किने र गाउँमा पशुपालन, कृषि तथा साना उद्योगमा लाग्नेको सङ्ख्या जैमिनीमा उलेख्य रहेको स्थानीय विद्यालयका शिक्षक नवीन प्रताप जिसी बताउनुहुन्छ ।  

काठेखोला गाउँपालिका–७ रेशका वीरेन्द्र लामिछानेले रोजागारीका लागि लामो समय खाडी मुलुकमा बिताउनुभयो । विदेशको कमाइले घर खर्चमात्रै चल्ने भएपछि झण्डै आठ वर्षको विदेश बसाई टुङ्गो लगाउने माध्यम अहिले बाख्रापालन भएको छ । स्थानीय जातको खरिबाख्राका साथै जमुनापारी र उन्नत जातको बाख्रा पालेर पछिल्लो दुई वर्षयता उहाँले राम्रो आम्दानी गर्न थाल्नुभएको छ । बाख्राका अतिरिक्त कुखुरापालनमा पनि उहाँ लाग्नुभएको छ । घरमै परिवारसँग बसेर गरेको व्यवसायले खर्च चल्ने भएपछि विदेशको मोह त्यागेको लामिछाने बताउनुहुन्छ । रेशकै गुमान जिसीले पनि बाख्रा, टर्की चरा र कुखुरा पाल्नुभएको छ । जिसी पनि लामो समय विदेश बसेर फर्किनुभएको हो । “रगतको पसिना पार्दा नबचेको पैसा अहिले बचाउँछु”, जिसी भन्नुहुन्छ, “गर्न सके घरमै रोजगारी छ भन्ने बुझियो ।” विदेशका दुःख र गाउँको बसाइलाई मूल्याङ्कन गरेर युवाले कमाइमा सम्झौता गर्ने गरेका छन् ।

काठेखोला गाउँपालिकाले उद्यमीका लागि प्रविधि तथा सीपको व्यवस्थापन गर्ने गरेको छ । व्यवसायमा लाग्ने युवाको प्रोत्साहनका लागि मेसिन तथा सामग्री उपलब्ध गराउने गरेको वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । “हाम्रो वडामा मात्रै युवाका ४१ ओटा पशुपालन तथा तरकारी उत्पादन फार्म दर्ता भएका छन्”, लामिछानेले भन्नुभयो, “पछिल्लो समय युवा उद्यमीहरुको लगाव उत्साहजनक छ ।” यहाँ उत्पादन हुने तरकारी तथा फलफूल र पशुजन्य उत्पादनको बजारीकरण सहज रहेकाले युवाको आकर्षण उत्पादनमा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केर होस वा विदेशिने प्रक्रियामा लाग्दा देशको माटोको महत्व बुझेर होस बागलुङमा कृषि तथा पशुपालन उद्यम गर्ने युवाको सङ्ख्या धेरै छ । विषेशगरी विदेशबाट फर्केर पशुपालन व्यवसायमा युवा लागेका छन् । किसानको उन्नतिमा सहयोग गर्ने भनेर यहाँका स्थानीय तहले योजनासमेत बनाउने गरेका छन् । योजनाको कार्यान्वयनमा भने केही समस्या रहेको स्थानीय सरकार प्रमुख बताउँछन् । 

बागलुङ नगरपालिका–३ हाडेपाखाका गणेश शर्मा अमेरिका सपना चकनाचुर भएपछि गाईभैँसीपालन व्यवसायमा लाग्नुभएको छ । एक वर्ष पहिला अमेरिका जाने भनेर घर छोड्नुभएका गणेश एक महिना हराउनुभयो । रु २० लाख सकेर गाउँ फर्किनुभयो । गाउँ फर्केपछि आफ्ना बुबाले परम्परागतरुपमा गर्दै आएको पशुपालन व्यवसया प्रवद्र्धनमा थप रु १५ लाख खर्चेर गणेशले अमेरिकाको चक्करमा लागेको ऋण उकास्दै हुनुहुन्छ । उहाँको गोठमा १० वटा दुहुँना गाईभैँसी छन् । व्यक्तिगत लगानीमा उहाँले गोठमात्रै भर्नुभएको छैन उपभोक्तालाई सुद्ध दूध पु¥याउनुभएको छ । 

बागलुङको गल्कोट नगरपालिका–१ दुदीलाभाटी थलिङका महिलाहरुले समूहमा व्यावसायिक तरकारी खेती थालेका छन् । समूहमा गरेको तरकारीखेतीको आम्दानीले आफ्नो जीवनस्तरमा परिवर्तन आएको उनिहरु बताउँछन् । यहाँका महिलाहरू ‘प्रगति एकीकृत कृषि तथा पशुपालन समूह’ दर्ता तरकारी खेतीमा लागेका हुन् । तरकारी खेतीबाट हुने आम्दानीले आफ्नो व्यक्तिगत र परिवारको खर्च चलाउँदै आएका छन् ।

समूहको विधि र कानूनमा रहेर उनीहरू सामूहिक तरकारीखेतीमा जुटेका हुन् । स्थानीय रुपमै तरकारी उत्पादन गरी आत्मनिर्भर बन्ने उद्देश्यले १५ जना महिला संगठित भएका छन् । आफ्नो जग्गा नभएका महिलासमेत समूहमा आबद्ध छन् । सबैका लागि मान्य हुनेगरी उनीहरूले झमबहादुर खत्री, युवराज सुवेदी र बलबहादुर खत्रीको जग्गा भाडामा लिएर तरकारी उत्पादनको क्षेत्रमा अगाडि बढेको समूहका अध्यक्ष हरिमाया सुवेदीले बताउनुभयो । 

बागलुङमा वैदेशिक रोजगारीबाट फर्केका हुन् वा विदेशको मोह त्यागेर कृषि र उद्यममा लागेका युवा धेरैले व्यावसायिक बाटो समातेका छन् । पछिल्लो समय स्थानीय सरकारलेसमेत कृषि र पशुपालन तथा व्यावसायिक खेतीका लागि अनुदानका कार्यक्रम ल्याएका भएपनि आफूहरु त्यसबाट लाभान्वित हुन नपाएको किसान युवाहरुको गुनासो छ । “खोइ कता हो वडा र नगरले पनि अनुदान बाँड्छन् भन्ने सुनेको छु तर हामिलाई त केही थाहा हुँदैन”, व्यावसायिक गाईपालन गर्दै आउनुभएका जैमिनी–१ कुश्मीशेराका किसान गुरुदत्त आचार्यले भन्नुभयो “जीविका नै चलाउनु छ, आशा गरेर थालेको उद्यम होइन, दिए राम्रै हुन्थ्यो, नभए नी गुनासो छैन ।”

स्थानीय तहले बाँड्ने अनुदान कस्ता किसानले पाउँछन् भन्ने जवाफ स्थानीय तहसँग नै छैन । स्थानीय तहले प्रक्रियाको झन्झटीलो बाटो देखाउने र किसानले सोधी खोजी नगर्दा वास्तविक किसान सरकारका कार्यक्रमबाट लावान्वित हुन नसकेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल बताउनुहुन्छ । ‘‘हामीले बिदेशबाट फर्किएका युवा प्रोत्साहन कार्यक्रम नै बनाएका छौँ, हामी सबै किसानको घर पुग्न सकेनौँ होला, उहाँहरुले पनि सोधी खोजी गर्नुप¥यो”, पौडेलले भन्नुभयो, “अनुदान दिएपछि पनि हाम्रो सघन अनुगमन हुन्छ, दुरुपयोग हुन दिन्नौँ ।” कागज मिलेपछि कार्यक्षेत्र नहेरी अनुदान दिने गर्नाले भने बागलुङमा नक्कली किसानको हातमा राज्यको स्रोत पुग्ने गरेको किसानको गुनासो छ 

उद्योग र व्यवसायमा युवाको आकर्षण बढ्न थालेपछि रोजगारीका क्षेत्र सिर्जना हुनेमा आशा पलाएको पौडेलले बताउनुभयो । युवाले आफूहरुलाई सहज हिसाबले स्थानीय सरकारले सहयोग गरे पशुपालन तथा कृषि व्यवसायबाट समृद्ध बन्न सकिने बताउँछन् भने नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारले युवाको उत्साहमा साथ दिने बताउँदै आएका छन् । जिल्लाभर व्यावसायिक कृषि तथा पशुपालन र साना उद्योग गरेर आयआर्जन गर्ने युवाको तथ्याङ्क भने तयार भइसकेको छैन ।