• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनेतर्फ सरकार अग्रसर छः पर्यटनमन्त्री पाण्डे



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनेतर्फ सरकार अग्रसर रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आायेजित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्राज्ञिक सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ढुकुटी बलियो हुने आधारमा मात्रै पुँजीगत खर्च र योजना बनाउने गरिएको भन्दै अर्थतन्त्रलाई सुदृढ गर्नका लागि भ्रष्टाचार न्युनिकरण र सुशासनको प्रत्याभुति गराउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले विश्वविद्यालयका विभिन्न विभागहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित रहेर पनि सरकारलाई सुझाव दिनसक्ने बताउनु भयो । उहाँले प्रज्ञा प्रतिष्ठानलाई विशुद्ध प्राज्ञिक थलो बनाउन जोड दिनुपर्ने बताउनु भयो । उहाँले प्राज्ञिक सभाले गणतन्त्र र लोकतन्त्रको चर्चा गर्न राजनीतिक व्यक्तिलाई दिन आग्रह गर्दै प्राज्ञिक कुरामा ध्यान दिन निर्देशन दिनुभयो । गणतन्त्र र लोकतन्त्रको चर्चाको सीमाबाट धेरै माथि उठेर साहित्य, दर्शन, सामाजिक शास्त्र, संस्कृति, संगीत, नाट्यविधाको चर्चा गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पुँजीगत खर्च, हामीले योजना त बनाएका छौँ, कार्यक्रम त दिएका छौँ । तर त्यो ऋणात्मक हिसावले हो । भोलि उठिहाल्ला, जुटिहाल्ला । ढुकुटी बलियो भइहाल्ला भन्ने आधारमा यही अर्थतन्त्र बलियो बनाउने गरी, अर्थतन्त्रलाई सुदृढ गर्नेगरी काम अघि बढाउनुपर्नेछ । त्यसका लागि सरकारले राजनीतिक नेतृतवले लिनुपर्ने बाटो भनेकै भ्रष्टाचारको न्युनिकरण गर्ने र सुशासनको प्रत्याभुति गर्ने काम सरकारले दृढतापूर्वक गर्नुपर्छ । यस सन्दर्भमा पनि प्राज्ञहरुले विशेष ध्यान दिनुपर्छ । यद्यपी प्राज्ञहरुको राजनीतिक काम होइन । तर कतै राजनीतिक व्यक्तिहरु आफ्नो कर्तव्यबाट च्युत भए कर्तव्य सम्झाउन त्यो प्राज्ञिक कोणबाट सचेत गराउनुपर्छ ।

विश्वविद्यालयहरु सततः आफ्नो कर्तव्यनिष्ठ छन् ? आवश्यक ठाउँमा सुझाव दिइरहेका छैनन् । तीन वटै प्रज्ञा प्रतिष्ठानहरु कसरी अघि बढ्न सकिन्छ,हामीले साँच्चि नै प्राज्ञिक काम गरिरहेका छौँ । हाम्रा सजगता, सीमाहरु प्राज्ञिक काम गर्नका लागि के हुन् । प्राज्ञिक काम गर्न विशुद्ध प्राज्ञिक थलो बनाउन गर्नुपर्ने काम के हुन् । यसको दोषी तपाईंहरु होइन, यसको दोषी सिंगो राज्य संयन्त्र हो ।

विशेष गरी राजनीतिक नेतृत्व हो । हामी हौँ । यि थलोलाई हामीले प्राज्ञिक दिशामा लिएर जानुपर्छ । गणतन्त्र र लोकतन्त्रको चर्चा राजनीतिक मान्छेलाई गर्न दिनुस् । गणतन्त्र र लोकतन्त्रको चर्चाको सीमाबाट धेरै माथि उठेर साहित्य, दर्शन, सामाजिक शास्त्र, संस्कृति, संगीत, नाट्यविधाको चर्चा गर्नुपर्छ ।’

संस्कृतिको प्रवद्र्धन, विकास, अध्ययन, अनुसन्धानको जरुरी रहेको बताउनु भयो ।