• १२ भाद्र २०८१, बुधबार
  •      Wed Aug 28 2024
  •   Unicode
Logo

नेपाल प्रतिभाहरु भएको देश होः प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गीत, संगीतलगायतका प्रतिभाहरु भएको देश भएको बताउनुभएको छ । छिन्नतला गीत पुरस्कार गुठीले बुधवार काठमाडौँ आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

भारतीय चर्चित रियालिटी शो इण्डियन आईडलबाट नाम कमाउन सफल मेनुका पौडेलको दृष्टान्त पेश गर्दै प्रधानमन्त्री ओलीले कला, संस्कृति, संगीत, बाद्यबादन, गायनको विकास गर्ने ठाउँ नेपाल भएको पनि उल्लेख गर्नुभयो । त्यस अवसरमा उहाँले नेपालमा विभिन्न विधाको प्रतिभाहरु रहेको ठाउँ भएको र उनीहरुलाई खोजीखोजी सम्मान गर्ने काम गरेको भन्दै सो गुठीको प्रशंशा पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कला, संस्कृति, संगीत, बाद्यवादन, गायन । यी सबै कुरामा यो ठाउँ त्यसलाई बुझ्न पनि जान्ने, चिन्न पनि जान्ने र त्यसलाई प्रस्फुटित गर्न जान्ने, त्यसलाई विकास गर्नसक्ने यो ठाउँ हो । आज हामी यस ठाउँका यिनै कलाकारहरुको सम्मान गरिरहेका छौं । हाम्रो अगाडि कलाकार हुनुहुन्छ मेनुका पौडेल । उहाँ नेत्रविहीनको स्थितिमा हुनुहुन्छ । तर, उहाँले नेपालमा मात्र होइन, विदेशमा समेत गाएर तहल्का मच्चाउनु भएको छ । यो यस्तो प्रतिभाको ठाउँ हो । संगीतमा संकेत चिन्हहरु उहाँले देख्न सक्नुहुन्न । तर देख्न पर्दैन उहाँलाई । त्यसको कहाँनिर कस्तो धुन छ भन्नेकुरा उहाँलाई थाहा छ । त्यसो भएर यो प्रतिभाहरुको देश हो । यहाँका प्रतिभाहरु सम्मानित हुनु भएको छ । खुशी व्यक्त गर्दछु । यस्ता प्रतिभाहरुलाई खोजीखोजी सम्मानित गर्ने, प्रशंशित गर्ने, खोजीखोजी खानीबाट हिरा कटिङ गरेर चम्काएर देखाउने त्यो काम छिन्नतला पुरस्कार गुठीले गरेको छ । म धन्यवाद भन्न चाहन्छु । ’

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता पुरस्कार गीतकार भुषण खरेललाई प्रदान गर्नुभएको थियो । त्यसैगरी उहाँले संगीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले २०८० सालको छिन्नलता पुरस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गर्नुभएको थियो । छिन्नलता गीत, संगीत र गायनको पुरस्कारको राशी जनही एक लाख रहेको छ ।