१३ माघ २०८१, आईतवार
,
Latest
रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश, मुख्य भूमिका रहने होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन भन्दै विनिता कठायतले दिइन् निवेदन वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू



अ+ अ-

देउखुरी । गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।

समूहका अध्यक्ष आनन्दा यादव ४६ वर्षकी हुनुभयो । उहाँ आमा समूहमा आवद्ध भएपछि धेरै कुरा सिक्ने अवसर मिलेको बताउनुहुन्छ । बालविवाह न्यूनीकरण, महिला हिंसाको वकालत, प्रजनन स्वास्थ्यका बारेमा हुने छलफलबाट धेरै सिकाइ भएको उहाँले बताउनुभयो । “समूहमा आबद्ध नहुँदासम्म धेरै कुरा थाहा थिएन । अहिले कानुनी र व्यावहारिक सबै कुरा थाहा भएपछि समाजलाई सचेत बनाउन लागेका छौँ । आमा समूहमार्फत बालविवाह रोकथाम तथा छोराछोरीको उमेर पुगेपछि मात्र विवाह गर्न सुझाव दिने अभियानमा जुटेका छौँ”, उहाँले भन्नुभयो ।

समूहका सचिव गरिमा बुढाथोकी आफैँले १७ वर्षको उमेरमा भागी बिहे गर्नुभएको थियो । सानो उमेरमा विवाह गर्दा शारीरिक, मानसिक तथा अन्य वृत्तिविकासमा असर पुग्ने अनुभव गरेपछि ३५ वर्षको उमेरमा उहाँ बालविवाह घटाउने अभियानमा जोडिनुभएको छ । “सानो उमेरमा बिहे गर्नुहुँदैन भन्ने कुरा उबेला थाहै भएन । बिहे गरियो तर अहिले पछुतो लागिरहेको छ । उमेर पुगेर गरेको विवाहले शारीरिक मानसिक रूपमा परिपक्क हुन पाइने कुरा अहिले मात्रै थाहा भएको छ”, सचिव बुढाथोकीले भन्नुभयो,“अचेल गाउँघरमा हुने महिलाहिंसा न्यूनीकरण, बालविवाह रोकथामलगायत विषयमा वकालत गर्ने गरेका छौँ । यसले अहिलेका पुस्ता र अभिभावकलाई सचेत गराउन योगदान पुगेको छ ।”

बालविवाह र महिला हिंसा मात्रै होइन समूहले सदस्यलाई बचत गर्न सिकाइ आवश्यक परेका समयमा लगानीसमेत गर्ने गरेको छ ।

मक्तकम्लरी विकास मञ्चका फिल्ड संयोजक ज्ञानु थापाले किशोर अवस्थामा आउने परिवर्तन तथा उत्सुकता मेटाउन बाल क्लब र आमा समूह गठन गरेर काम भइरहेको बताउनुभयो । यी समूहलाई मञ्चले तालिम तथा अन्य कार्यक्रममार्फत सचेतना अभिवृद्धिमा समेत जोड दिइरहेको उहाँले जानकारी दिनुभयो । “आमाहरूलाई गाउँघरमा हुने हिंसा घटाउने काममा लगाउने मात्रै होइन उहाँहरूको आएआर्जन वृद्धि गर्न व्यावसायिक तरकारी खेतीका लागि सहयोग गरिरहेका छौँ । पालिकाको कृषि शाखासँग समन्वय गरेर आमा समूहलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान पनि सँगसँगै अगाडि बढाइरहेका छौँ”, थापाले भन्नुभयो ।

गढवागाउँ पालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया, सडक नाटक देखाउने र पालिकाभित्रका वडाका गुरुबा, धामी र महतवालाईसँगै राखेर जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताउनुभयो । यसकार्यले बालविवाह र हिंसा घटाउन योगदान पुगेको उहाँले जानकारी दिनुभयो । “विद्यालयमा बाल क्लब र गाउँमा आमा समूह गठन गरेर जानकारीमूलक कार्यक्रम भइरहेका छन् । पालिकाले पनि प्रत्येक वर्ष मुक्तकम्लहरी, सीमान्तकृत समुदाय र पछाडि परेका वर्गको उत्थानका लागि कार्यक्रम गर्ने गरेको छ”, उहाँले सुनाउनुभयो ।

यहाँका आमाहरू आफैँ अभियानमा जुटेपछि महिला हिंसा र बालविवाह घटाउन सहज भएको जानकारहरू बताउँछन् । यहाँका अन्य पालिका र वडाले पनि यस अभियानलाई विस्तार तथा लागू गर्नसके थप सहज हुने समूहमा आवद्ध आमाहरूको विश्वास छ । रासस