२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू



अ+ अ-

देउखुरी । गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।

समूहका अध्यक्ष आनन्दा यादव ४६ वर्षकी हुनुभयो । उहाँ आमा समूहमा आवद्ध भएपछि धेरै कुरा सिक्ने अवसर मिलेको बताउनुहुन्छ । बालविवाह न्यूनीकरण, महिला हिंसाको वकालत, प्रजनन स्वास्थ्यका बारेमा हुने छलफलबाट धेरै सिकाइ भएको उहाँले बताउनुभयो । “समूहमा आबद्ध नहुँदासम्म धेरै कुरा थाहा थिएन । अहिले कानुनी र व्यावहारिक सबै कुरा थाहा भएपछि समाजलाई सचेत बनाउन लागेका छौँ । आमा समूहमार्फत बालविवाह रोकथाम तथा छोराछोरीको उमेर पुगेपछि मात्र विवाह गर्न सुझाव दिने अभियानमा जुटेका छौँ”, उहाँले भन्नुभयो ।

समूहका सचिव गरिमा बुढाथोकी आफैँले १७ वर्षको उमेरमा भागी बिहे गर्नुभएको थियो । सानो उमेरमा विवाह गर्दा शारीरिक, मानसिक तथा अन्य वृत्तिविकासमा असर पुग्ने अनुभव गरेपछि ३५ वर्षको उमेरमा उहाँ बालविवाह घटाउने अभियानमा जोडिनुभएको छ । “सानो उमेरमा बिहे गर्नुहुँदैन भन्ने कुरा उबेला थाहै भएन । बिहे गरियो तर अहिले पछुतो लागिरहेको छ । उमेर पुगेर गरेको विवाहले शारीरिक मानसिक रूपमा परिपक्क हुन पाइने कुरा अहिले मात्रै थाहा भएको छ”, सचिव बुढाथोकीले भन्नुभयो,“अचेल गाउँघरमा हुने महिलाहिंसा न्यूनीकरण, बालविवाह रोकथामलगायत विषयमा वकालत गर्ने गरेका छौँ । यसले अहिलेका पुस्ता र अभिभावकलाई सचेत गराउन योगदान पुगेको छ ।”

बालविवाह र महिला हिंसा मात्रै होइन समूहले सदस्यलाई बचत गर्न सिकाइ आवश्यक परेका समयमा लगानीसमेत गर्ने गरेको छ ।

मक्तकम्लरी विकास मञ्चका फिल्ड संयोजक ज्ञानु थापाले किशोर अवस्थामा आउने परिवर्तन तथा उत्सुकता मेटाउन बाल क्लब र आमा समूह गठन गरेर काम भइरहेको बताउनुभयो । यी समूहलाई मञ्चले तालिम तथा अन्य कार्यक्रममार्फत सचेतना अभिवृद्धिमा समेत जोड दिइरहेको उहाँले जानकारी दिनुभयो । “आमाहरूलाई गाउँघरमा हुने हिंसा घटाउने काममा लगाउने मात्रै होइन उहाँहरूको आएआर्जन वृद्धि गर्न व्यावसायिक तरकारी खेतीका लागि सहयोग गरिरहेका छौँ । पालिकाको कृषि शाखासँग समन्वय गरेर आमा समूहलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान पनि सँगसँगै अगाडि बढाइरहेका छौँ”, थापाले भन्नुभयो ।

गढवागाउँ पालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया, सडक नाटक देखाउने र पालिकाभित्रका वडाका गुरुबा, धामी र महतवालाईसँगै राखेर जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताउनुभयो । यसकार्यले बालविवाह र हिंसा घटाउन योगदान पुगेको उहाँले जानकारी दिनुभयो । “विद्यालयमा बाल क्लब र गाउँमा आमा समूह गठन गरेर जानकारीमूलक कार्यक्रम भइरहेका छन् । पालिकाले पनि प्रत्येक वर्ष मुक्तकम्लहरी, सीमान्तकृत समुदाय र पछाडि परेका वर्गको उत्थानका लागि कार्यक्रम गर्ने गरेको छ”, उहाँले सुनाउनुभयो ।

यहाँका आमाहरू आफैँ अभियानमा जुटेपछि महिला हिंसा र बालविवाह घटाउन सहज भएको जानकारहरू बताउँछन् । यहाँका अन्य पालिका र वडाले पनि यस अभियानलाई विस्तार तथा लागू गर्नसके थप सहज हुने समूहमा आवद्ध आमाहरूको विश्वास छ । रासस




भर्खरै