• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

पछिल्लो समय प्रधानमन्त्री दाहालले सत्ताको खेल नै बुझ्नुभएन: चित्रबहादुर केसी



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ ।

एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन शुरु भएको उहाँको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्‍याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संसदमा र बाहिर कस्तो धुन सुन्न थालिएको छ भने–यी दुई वटा ठूला पार्टी मिलेपछि नेपाल अव सबै क्षेत्रमा मुक्त हुनेवाला छ । यस्ता स्वर बाहिरतिर पनि सुनिन्छ । भित्र पनि सुनिन्छ । नेपालमा बहुदलीय व्यवस्था आएपछि म सधैं यी ठूला पार्टीहरुसँगै छु । त्यसकारण मैले सुरुमै भनेको थिए–यदि तपाईहरु संसदीय व्यवस्था मान्ने भएको भए ठूलो पार्टीले चाँही नेतृत्व नगरेर साना पार्टीलाई किन दिनुभयो भनेर मैले त्यतिबैलै कुरा उठाएको थिए । अहिले वर्तमान प्रधानमन्त्रीले बुझनु भएन खेल । पुस १० गते तपाई जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा शुरु भएको थियो । त्यो बुझनु भएन । अब यसो भन्दाखेरी नराम्रो लाग्ला । तपाईले चाँही कति पटक बालकोट धाउनु भयो, कति पटक बुढानिलकण्ठ पुग्नु भयो ? यसरी चल्छ राजनीति ? तपाई ५ वर्ष सरकारमा राख्न संसद भित्रको दोस्रो पार्टी मिसिएको थिएन । लाटो खान्छ एक बल्डयाङ, बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै तपाईले बल्ल भोग्नु भयो । तपाईहरुको मन्त्रीमण्डल गठन हुँदै तपाई भन्दा ठूलो पार्टीले अर्थ मन्त्रालय किन लिएन ? गृह मन्त्रालय किन लिएन ? त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिए –दालका काला हेय । बुढानीलकण्ठ छोडेर बालकोट पुगेको परिणाम अहिले भोगीरहनु भएको छ । अब दुई वटा ठूलो पार्टी मिसिएपछि हुनेवाला केही छैन, मुखको तितो मात्रै पोख्ने कुरा हो ।’

अध्यक्ष केसीले काँग्रेस एमाले सत्ता समिकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गर्नुभयो । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उहाँले बताउनु भयो ।