• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बाढी पहिरोपीडितको तत्काल उद्धार गर्न सांसदको माग



काठमाडौँ । सांसदहरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग माग गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उहाँहरुले देशभर बाढी, पहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन भएको, छ जना बेपत्ता भएको र ८६ घाइते तथा अर्बौ रकम बराबरको क्षति भएको जानकारी जानकारी गराउनुभयो ।

सांसद नारायणप्रकाश साउदले देश अहिले बाढी, पहिरो र डुबानको चपेटामा परेको र कञ्चनपुरमा पनि ठूलो बाढी आउँदा धनजनको क्षति भएको बताउनुभयो । बाढी पहिरोबाट चार बालबालिकाको मृत्यु भइसकेको उल्लेख गर्नुभयो । सांसद साउदले सरकार समक्ष पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि माग गर्नुभयो । उहाँले महेन्द्र राजमार्ग अवरुद्ध भएको बताउँदै बाढी नियन्त्रण गर्न सरकार सजग रहनुपर्ने उल्लेख गर्नुभयो । तटबन्ध निर्माणमा सरकारले ध्यान नदिएको टिप्पणी गर्दै उहाँले धेरै नदीहरुले बस्तीमै ठूलो असर गरेको बताउनुभयो ।

सांसद महेन्द्रराय यादवले अविरल वर्षाले देशभर बाढीपहिरो, डुबानको ठूलो असर परेको बताउँदै तराई र सर्लाहीमा धेरै ठूलो क्षति भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “राहत, पुनःस्थापनका काम केही हुन सकेको छैन । यसको मुख्य कुरा भनेको चुरे नै हो । चुरे विनाशका कारण तराइको भूमि मरुभूमिका परिणत हुदै गएको छ । यसको संरक्षण आवश्यक छ ।”

फरक प्रसंगमा उहाँले यही असार १७ गते नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बीच सत्ता समीकरण र संविधान संशोधनमा  सहमति भएका उल्लेख गर्दै संविधान संशोधन गर्दा सर्वपक्षीय छलफल गरेर मात्र गर्न आग्रह गर्नुभयो ।

सांसद रुपा सोशी चौधरीले देश बाढी पहिरोले आक्रान्त भएको बेलामा सुदुरपश्चिमको कैलाली र कञ्चनपुर पनि अछुतो नरहेको बताउनुभयो । उहाँले कतिपय ठाउँमा १० देखि १५ दिनसम्म पनि पानीको निकास हुन नसक्ने स्थिति रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले पूर्वानुमान गरेर यसरी हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

सांसद रामकृष्ण यादवले देश अहिले राजनीतिक संक्रमणकालको अवस्थामा रहेको बताउँदै यस बीचमा जनताका समस्यामा सरकारको उचित ध्यान जान नसकेको बताउनुभयो । उहाँले सरकारसँगै राज्यका निकाय पनि चलायमान भएर बाढी पहिरोको पीडितको उद्धारमा लाग्नुपर्ने बताउनुभयो ।

सांसद पूर्णबहादुर घर्तीमगरले गए राति पहिरो जाँदा रुकुममा धेरै धनजनको क्षति भएको जानकारी गराउँदै बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनस्थापनको माग गर्नुभयो । साथै घाइतेहरुको उपचारको माग गर्दै उहाँहरुको शीघ्रस्वास्थय लाभको कामना गर्नुभयो ।

सांसद गङ्गा कार्कीले गौरीशङ्कर गाउँपालिका(९ सीमीगाउँ, रोल्वालिङ, च्छोरोल्पा पदमार्गमा आएको भीषण बाढी र पहिरोका कारण धेरै क्षति पु¥याएको जानकारी गराउनुभयो । सांसद मोहन बस्नेतले सिन्धुपाल्चोकमा पनि बाढीपहिरोले  निकै असर पुर्याउको जानकारी गराउँदै यस्तो विपद् परेको बेलामा सम्बन्धित सांसदलाई जिल्लामा जाने व्यवस्था मिलाउनुपर्ने र गयल हुने व्यवस्था नगर्न अनुरोध गर्नुभयो ।

उहाँले सिन्धुपाल्चोकको एक हाइड्रोपावरमा काम गर्ने दुई व्यक्तिको मृत्यु भएको छ । मृतकको  परिवारको बच्चालाई पढाउने र एउटालाई रोजगारीको व्यवस्थाका लागि आफूले पहल गर्ने जानकारी गराउनुभयो ।