९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
अ अ+ अ-

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि गठित संसदीय उपसमितिले आज विमानस्थल र रिठ्ठेपानी डाँडाको अध्ययन तथा अनुगमन गरेको छ ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले आज सरोकार भएका पक्षसँग छलफल गरी आवश्यक सुझावसमेत लिएको छ । त्यसक्रममा विमानस्थलमा भएको लगानी, निर्माणको आवश्यकता र औचित्य, निर्माणका क्रममा भएका त्रुटि, विमानस्थल नियमित सञ्चालनका चुनौती, भावी कार्ययोजनालगायत विषयमा छलफल भएको थियो ।

संयोजक लिङ्देनले अनियमिताका विषयमा छानबिन प्रक्रिया अगाडि बढाई कोही दोषी देखिए कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उद्घाटन भएको डेढ वर्ष बितिसमेत विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण खोजी गरी अन्तरदेशीय उडान सेवा सञ्चालनका लागि पहल गर्ने गरिने उहाँले बताउनुभयो । विमानस्थलको निर्माण चरणदेखि अहिलेसम्मको समग्र अवस्थाबारे अध्ययन तथा अनुगमन गरी आवश्यक सुझाव दिइने संयोजक लिङ्देनका भनाइ छ ।

छलफलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विमानस्थल सञ्चालन नभएसम्म पर्यटकीय राजधानीका रूपमा पोखराले यथोचित लाभ लिन नसक्ने बताउनुभयो । विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि सङ्घ सरकारले शीघ्र र निर्णायक पहल लिनुपर्ने उहाँको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थल निर्माणपूर्व व्यावसायिक योजना बनाउन नसक्दा अहिले समस्या आएको बताउनुभयो । उहाँले सङ्घ सरकारले छिमेकी मुलुकबाट हवाई उडान गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

“उद्घाटन भएको लामो समय बितिसक्दा पनि किन पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको छैन, यसका वास्तविक कारण खोजीनिती र छानबिन हुनुपर्छ”, उहाँले भन्नुभयो, “महालेखापरीक्षकको कार्यालयले पनि अनियमितताबारे प्रश्न उठाएको छ, यदि विमानस्थल निर्माणका क्रममा आर्थिक चलखेल भएका भए त्यसको यथोचित अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाउनुपर्छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विमानस्थल बनाउने ५० वर्षदेखिको सपना पूरा भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुःखद भएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र सिङ्गो गण्डकी प्रदेश समृद्धिको आधार मानिएको विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउन माग गर्नुभयो । “विमानस्थल बन्दा पोखरेलीहरू हर्षित र उत्साहित भएका थियौँ तर डेढ वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुननसक्दा हामी निराश छौँ”, उहाँले भन्नुभयो ।

अध्ययन टोलीमा संयोजक लिङ्देनसँगै प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, गोकुलप्रसाद बास्कोटा, प्रेमबहादुर आले, अर्जुननरसिँह केसी, दीपक गिरी, तारा लामा तामाङ, रुक्मिणी राना बराइली, रामकृष्ण यादव, अमनलाल मोदी, दीपक गिरी, देवप्रसाद तिमिल्सिनालगायत सहभागी हुनुहुन्थ्यो । विमानस्थल निर्माणका क्रममा त्रुटि तथा अनियमितता भएको हुनसक्ने भन्दै संसदको सार्वजनिक लेखा समितिमा परेको उजुरीका आधारमा गत असारमा उपसमिति गठन गरिएको थियो । रासस