१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने

सेराप विष्ट गाउँ फर्के रे !

सेराप विष्ट गाउँ फर्के रे !
????????????????????????????????????
अ अ+ अ-

गण्डकी । हिमालपारि मनाङका सेराप विष्ट, ‘चेमी ङ्या’ अर्थात् चामेमाथि ठूलो गरामा एकतमासले केराउ टिपिरहनुभएको थियो । हामी टक्क अडिन मात्र के भ्याएका थियौँ, ‘चाख्नुहुन्छ ?’ भन्दै उहाँ हामीछेउ आइपुग्नुभयो । भर्खरै टिपेको केराउ थमाउनुभयो । हंसमुख र विनम्र वचनसहित टक्र्याएपछि केराउको स्वाद नलिइ भएन । अहो१ कति रसिलो ।

हाम्रो उद्देश्य केराउको स्वाद चाख्नु नभइ उहाँबारे जानकारी लिनुथियो । हामीले थप नअल्मिलिँदै जिज्ञासा राख्यौँ, उहाँ पनि सजिलो गरी प्रस्तुत हुनुभयो । जीवनका अन्तरकुन्तर खोल्नुभयो ।

सपनाको सहर काठमाडौँबाट जन्मथलो फर्केर कृषि र पर्यटन व्यवसायमा रमाइरहनुभएका ३२ वर्षीय युवा । विसं २०६५ मा विद्यालय शिक्षा पूरा गरी विष्ट उच्च शिक्षा अध्ययनका लागि राजधानी छिर्नुभयो । म्यानपावर कम्पनीमा काम गर्दै होटल व्यवस्थापन पढ्नुभयो तर आर्थिक अभावले पढाइलाई १२ कक्षाभन्दा अगाडि बढाउन सक्नुभएन । “भृकुटीमण्डमा घोडा तान्ने कामदेखि के सम्म गरिएन काठमाडौँमा”, विष्ट विगततिर फर्किनुभयो, “पराइ ठाउँ, न घरपरिवार न आफन्त, छाक टार्ने जागीरले काठमाडौँको बसाइँ सकसपूर्ण हुन थालेपछि म आफ्नै ठाउँ चामे फर्किएँ ।” नौ वर्षको काठमाडौँ बसाइँलाई बिट मारेर उहाँ विसं २०७५ मा मनाङ फिर्नुभयो । सदरमुकाम चामेमा विष्टका बुबाआमा निर्वाहमुखी कृषि गरिरहनुभएको थियो तर व्यावसायिक चेत थिएन । जेठा छोरा सेराप गाउँ फर्किएपछि दु:खसुख गरेर जीवन धानिरहनुभएका विष्ट दम्पतीको जीवनले पनि नयाँ मोड लियो ।

सेरापले गाउँ फर्केपछि ‘विष्ट एप्पल फार्म’ स्थापना गर्नुुभयो । त्यो बेला ‘फार्म’ दर्ता कसरी गर्नेसम्म उहाँलाई थाहा थिएन । गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले त्यसमा सघाउनुभयो । तनहुँको दमौली पुगेर सेरापले स्थायी लेखा नम्बर ‘पान’ नम्बर ल्याउनुभयो । चार रोपनीमा फैलिएको ‘फार्म’मा अहिले स्याउ फलिरहेका छन् । स्याउसँगै उहाँले व्यावसायिक तरकारीखेती सुरू गर्नुभयो । प्लाष्टिक घर (टनेल)मा लटरम्म गोलभेँडा फलेका छन् । चामेका होटललाई चाहिने तरकारी उहाँले नै पुर्‍याउनुहुन्छ । “चार रोपनीमा आलु र दुई रोपनीमा गोलभेँडा, काउली, बन्दालगायत अरु तरकारी लगाएको छु”, उहाँले सुनाउनुभयो, “किवी, आरु, खुर्पानीलगायत मौसमअनुसारका फलफूल पनि लगाएको छु ।”

गाउँ फर्केर उद्यमी बन्ने सोचलाई उहाँले कृषिमा मात्र सीमित गर्नुभएन । चामे गाउँपालिका–५ मा खुलेको ‘हेप्पी होम होमस्टे’ उहाँको अर्को व्यावसायिक कर्म हो । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग छेउ रहेको उक्त ‘होमस्टे’ले विष्टलाई पर्यटन उद्यमीका रूपमा समेत चिनाएको छ । “होमस्टे सञ्चालनमा ल्याएको नौ महिना बित्दैछ, दुई पर्यटकीय याममा हामीले सेवा दिइसकेका छौँ”, विष्टले भन्नुभयो, “पाहुनालाई आफ्नै बारीको उत्पादन चखाउने हेतुले होमस्टे सञ्चालनमा ल्याएका हौँ, हामीकहाँ नेपाली र विदेशी दुवै खाले पर्यटक आउँछन् ।”

चामेको रैथाने बाली उवा, फापर, आलु, सिमीलगायतका परिकार उहाँको भान्छामा पाक्छ । पर्यटकले चाहेमा बारीमा पुगेर आफँै तरकारी टिप्न र पकाउन पनि पाउँछन् । विशुद्ध पारिवारिक वातावरण दिएर पर्यटक लोभ्याउने विष्टको सोच छ । उहाँले भन्नुभयो, “हाम्रो आमाले पहिले भान्छामा जे पकाउनुहुन्थ्यो, त्यही परिकार पर्यटकलाई दिन्छौँ, स्थानीय उत्पादनमै हाम्रो बढी जोड छ ।”

विष्टले ‘होमस्टे’ आमाकै नाममा दर्ता गरेर चलाउनुभएको छ । ‘होमस्टे’मा एक रातमा १५ जना पाहुना बस्न सक्छन् । हिमाली सभ्यता र जनजीवन झल्काउने गरी ‘होमस्टे’ सेवालाई विविधीकरण गर्दै जाने विष्टको योजना छ । “निकट भविष्यमा फार्म हाउस खोल्ने योजना छ, हेरौँ परिस्थितिले कत्तिको साथ दिन्छ”, उहाँले भन्नुभयो, “आफ्नै जन्मथलोमा केही गर्ने हुटहुटी छ, व्यावसायिक कर्म र बुबाआमाको सेवामा समर्पित भएर लाग्ने प्रण गरेको छु ।”

उमेरले उकालो चढ्दै गर्नुभएका साङ्दो र पेमा भुटी विष्ट पनि छोरा गाउँ फर्केपछि निकै खुसी हुनुहुन्छ । विष्ट दम्पतीले सकेजति छोरालाई काममा सघाइरहनुभएको छ । । सेराप आफैँ खेतीबालीको काममा खट्नुहुन्छ । कहिलेकाहीँ खेताला लगाउनुहुन्छ । पर्यटनबाट धानिएको मनाङमा आफ्नो भविष्य सुरक्षित देख्नुभएका सेराप अरूका लागि पनि प्रेरणा बन्नुभएको छ । उहाँको लगाव, योजना र सोचका कारण गत आइतबार गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ‘युवा प्रतिभा पहिचान तथा सम्मान’ बाट सम्मानित हुनुभएको छ ।

कृषि तथा लघु उद्यमतर्फ प्रदेशभरीमा प्रथम स्थानमा छनोट भई उहाँले रु ५० हजार पुरस्कार पाउनुभयो । केही समयअघि उहाँलाई चामे गाउँपालिकाले पनि युवा उद्यमीका रूपमा सम्मान गरेको थियो । “सम्मान र पुरस्कारले थप प्रेरणा दिएको छ, आगामी दिनमा व्यवसायको गुणस्तर र क्षमता विस्तारतिर लाग्छु, थोरै सङ्ख्यामा भए पनि गाउँमै रोजगारी सिर्जना हुने गरी काम गर्छु”, उहाँले भन्नुभयो ।

विष्टलाई सबैभन्दा सन्तोष लाग्ने विषय हो बुढेसकालमा बुबाआमासँगै रहन पाउनु । “जग्गा धेरै भएर पनि बुबाआमाले खेतीकिसानी गर्न नसक्ने अवस्था थियो, म घर फर्केपछि बल्ल उहाँहरूलाई पनि आडभरोसा मिल्यो, खुसीसाथ कृषिकर्ममा रमाइरहेका छौँ, कमाइ पनि राम्रै छ”, विष्टले भन्नुभयो । सेरापका माइला भाइ भक्तपुरमा बौद्धशिक्षा पढ्दै हुनुहुन्छ भने कान्छा भाइ वैदेशिक रोजगारमा हुनुहुन्छ ।

देश नै विदेश भइरहेको छ भन्ने भाष्य बनिरहेका बेला सेराप भने आफ्नै थातथलो फर्केर आफ्नै जीवनमा आशा भरिरहनुभएको छ भने अरूलाई देशमै केही गर्नुपर्छ भनेर प्रेरणा दिइरहनुभएको छ । तिनै युवाउद्यमी सेरापलाई हामीले सोध्यौँ—श्रवण मुकारुङले रचेको अहिलेको चर्चित गीत ‘राई माइलाले गाउँ छाड्यो रे…’ सुन्नुभएको छ ? जवाफमा भन्नुभयो, “गीत सुनेको छु, मिठो छ ।”

हामीले भने ‘सेराप विष्ट गाउँ फर्के रे !” भनेर प्रशंसा गर्‍यौँ । उहाँ मन्द मुस्काउनुभयो । मुस्कानसहित उहाँले भन्नुभयो,“नबिर्सनुहोला ल ! समय मिलेमा फेरि पनि आउनुहोला, हाम्रै होमस्टेमा बसेर एकरात सँगै रमाउँला ।” हामी पनि मन्द मुस्कानले उहाँको भनाइमा स्वीकारोक्ति जताएर छुट्टियौँ ।