• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट



एजेन्सी । आईसिसी टी-२० विश्वकपको उपाधि विजेता भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको टोलीलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

भारतीय टोलीका सबै खेलाडी ‘इन्डिया च्याम्पियन्स’ नामको विशेष जर्सी लगाएका छन् । कप्तान रोहित शर्मा र राहुल द्रविणले प्रधानमन्त्री मोदीको हातमा ट्रफि थमाएर फोटो खिचाएका छन् । फोटोमा अन्य खेलाडिहरु पनि देखिएका छन् ।

यसपछि आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । सो अवसरमा यसअघि बोर्डले घोषणा गरेको १२५ करोड रकम समेत हस्तान्तरण गरिने बताईएको छ ।

भारतीय टोलीले १७ वर्षको लामो प्रतीक्षापछि दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

च्याम्पियन बनेपछि टीम इण्डिया चक्रवातका कारण बार्बाडोसमा फसेको थियो । नियमित उडान रद्द भएपछि भारतीय क्रिकेट बोर्डले बिहिबार विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारहरूलाई बारबाडोसबाट सिधै दिल्ली ल्याएको थियो ।