• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल



गलेश्वर । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो ।

राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राखिने उहाँले जानकारी दिनुभयो । “रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौँ, ट्राफिक प्रहरीलाईसमेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ”, प्रजिअ ढकालले भन्नुभयो ।

सडकको अवस्था हेरेर यात्रा गर्न सहजीकरण गरिने प्रजिअ ढकालको भनाइ छ । मङ्गलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षति पुगेको थियो भने तीन जना यात्रुलाई सकुसल उद्धार गरिएको थियो । सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्नेलाई पहिरोस्थलका बारेमा जानकारी दिने गरी बेनी, गलेश्वर, भुरुङ तातोपानी र दाना क्षेत्रमा प्रहरी खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ साना ठूला पहिरा छन् । तीमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइँठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ रहेका आयोजनाले जनाएको छ । गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा रु ७० करोडभन्दा बढी खर्च हुने बताइएको छ ।

यसैगरी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडकखण्डमा बाढीपहिरोका कारण सवारी आवागमनमा पर्ने असर, सवारी चालक र यात्रुलाई विपद्बाट हुनसक्ने क्षती, वर्षाको समयमा हुनसक्ने सम्भावित यात्राको जोखिम र सुरक्षित रहन चालक र यात्रुले अवलम्बन गर्नुपर्ने सुरक्षाका उपाय साथै सडकको अवस्थाबारे  जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रम समेत गर्दैआएको छ ।

बेनीका घरघरमा स्वास्थ्यकर्मी 

म्याग्दीको बेनी नगरपालिकाले ७० वर्षभन्दा माथि उमेर समूहलाई लक्षित गरेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच र उपचारका लागि सुरु गरेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट एक हजार सात सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । नगरका प्रत्येक वडाका घरघरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने कार्यक्रमबाट ज्येष्ठ नागरिकसँगै अन्य पनि लाभान्वित भएका छन् ।

ज्येष्ठ नागरिक, शारीरिक रुपमा अपाङ्गता भएका तथा अशक्त तथा दीर्घरोगीलाई लक्षित गरेर सञ्चालित ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम प्रभावकारी बन्दैगएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । विसं २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट बेनी नगरपालिकाको प्रमुखमा सुरत केसी र उपप्रमुखमा ज्योति लामिछानेसहित निर्वाचित भएपछि नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरेर घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको हो ।

विसं २०७८ को जनगणनाअनुसार बेनी नगरपालिकाको कूल जनसङ्ख्या ३२ हजार ६ सय ९७ रहेको छ । पुरुषको संख्या १५ हजार तीन सय ६१ र महिला १७ हजार तीन सय ३७ छन् । दश वडा रहेको बेनी नगरपालिका क्षेत्रमा यो कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको छ । प्रत्येक महिना एक पटक बेनीका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी घरघरमा पुग्छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रम कार्यान्वयन गर्न कूल रु आठ लाख ८० हजार विनियोजन गरिएको छ । सो कार्यक्रमबाट ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अशक्त बिरामी प्रत्यक्ष रुपमा लाभान्वित भएका बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीका अनुसार उक्त  कार्यक्रमबाट करिब एक हजार सात सय ज्येष्ठ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

विद्यार्थीलाई सेनाको तालिम

म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँको दिपशिखा माध्यमिक विद्यालयमा विद्यार्थीका लागि जुनियर डिभिजन तालिम आयोजना गरिएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक म्याग्दीमार्फत बुधबारदेखि सो तालिम सञ्चालन गरिएको हो । दुई महिनाभन्दा बढी समयसम्म चल्ने सो तालिममा  सैन्यज्ञानका साथै अन्य कुरा पनि सिकाइने विद्यालयका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले बताउनुभयो ।

खोज, राहत, उद्धार र प्राथामिक उपचारमा सेवा जस्ता व्यावहारिक ज्ञानसमेत प्राप्त हुने भएकाले म्याग्दीमा सञ्चालित तालिममा विद्यार्थीको आकर्षण बढेको छ । गत वर्ष सो कार्यक्रम बेनी नगरपालिका–५ पुलाचौरको जनकल्याण माविमा सञ्चालन गरिएको थियो । रासस