१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गद्दी बैठकमा तस्वीर प्रदर्शनीसहित सर्वसाधारणका लागि खुला



अ+ अ-

काठमाडौं । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी सुरु गरेको छ । 
 
गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ । ऐतिहासिक तस्वीरहरुको प्रदर्शनी हेर्न दैनिक सयौँ स्वदेशी एवं विदेशी पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आउने गरेका छन् ।

यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो । कोरोना महामारी कम भएपछि गत फागुन २७ गते शुक्रबारदेखि प्रदर्शनी सुरु गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीको उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यस्ता गतिविधिले विदेशी एवं स्वदेशी पर्यटकलाई सम्पदास्थलमा आकर्षण गर्ने बताउनुभयो ।

प्रदर्शनीमा नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटनाक्रमका तस्वीरको प्रतिलिपि राखिएको छ । प्रदर्शनीले त्यसबेलाको अवस्था जान्न सहयोग गर्ने विश्वास गरिएको छ । 

यो प्रदर्शनीसँगै गद्दी बैठक पनि सर्वसाधारणका लागि खुला गरिएको छ । सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दी बैठक सात वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो । 

पृथ्वीवीरविक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दी बैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रूपमा उपयोग हुने थालेको थियो । गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रूपमा प्रयोग गरिँदै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर गद्दी बैठक खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाकालका कागजपत्र, दस्तावेज पनि प्रदर्शनी गरिएको छ । रासस