काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न व्यक्ती वा कम्पनीलाई पीडितको तत्काल उद्धार गर्न चेतावनी दिनुभएको छ । यूएईमा दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको गुनासो आएपछि मन्त्री श्रेष्ठले श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा ब्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।
मन्त्री श्रेष्ठको चेतावनीपछी रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्याउने कार्यमा संलग्न त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्यायले अलपत्र परेका पाँच नेपालीलाई स्वदेश फिर्ताको व्यवस्था मिलाएको बताए । यूएईमा रहेका उपाध्यायले मन्त्री श्रेष्ठलाई टेलिफोन गरी आफ्नो कारणले अलपत्र परेका युवाहरुलाई उद्धार गर्ने प्रतिवद्धता जनाएका छन् ।
उपाध्यायको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले कयौं युवालाई महिनौं अलपत्र पारेको तथा क्याम्पमा अमानवीय व्यवहार गरेको मन्त्रालयमा उजुरी आएको छ । आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु। ट्राभल्स संचालकहरु, दलाल तथा बिचौलियाहरु संलग्न रहेको पाइएकोले उनिहरुलाई कारवाहीको दायरामा ल्याउने मन्त्री श्रेष्ठले बताउनुभयो ।
मन्त्री श्रेष्ठले एक अपिल जारी गर्दै अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेमा त्यस्तो कार्यमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गर्न आग्रह पनि गर्नुभएको छ । उहाँले सचिवालयको मोवाइल नम्वरस् ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन आग्रह गर्नुभएको छ । सरकारले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपालीको समस्या समाधानका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल पनि गठन गरेको छ ।











