• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार



गलकोट, (बागलुङ) । नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ ।

गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुन:निर्माण चलिरहेको र अहिले पुन:निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

कोतघरलाई पुरानै शैलीमा नयाँ काठको प्रयोग, झ्याल ढोका नयाँ राख्ने र छाना पुरानै स्वरुपमा छाउने काम चलिरहेको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुन:निर्माण गरी ढुङ्गाले छाइएको थियो । त्यसयता गलकोट नगरपालिकाले मर्मतसम्भार गर्दै आए पनि भत्काएर पुन:निर्माण भने गरिएको थिएन ।

“बाहिरबाट रङ्गरोगन गरिए पनि भित्र काठ कँुहिएको रहेछ, ढुङ्गाको छाना चुँहिएर कोतघर जीर्ण भएको थियो, नगरपालिकाले विस्तृत परियोजना प्रतियोदन तयार गरेर कोतघरको पुन:निर्माण गर्ने तथा त्यस क्षेत्रको समग्र विकास गर्ने योजना जारी छ”, वडाध्यक्ष खत्रीले भन्नुभयो, “नगरपालिकाको योजनामा नेपाली सेनाले साथ दिएको छ ।”

घोडाबाँधेस्थित नेपाली सेनाको श्रीमेहर गणले दु्रत प्रभाव योजनाअन्तर्गत गलकोटस्थित कोतघर जीर्णोद्धार गरिरहेको प्रमुख सेनानी धनबहादुर रानाले जानकारी दिनुभयो । आगामी असारभित्रै निर्माण सम्पन्न गरेर कोतघर नगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिँदै उहाँले जीर्णोद्धार लागत रु नौ लाख रहेको बताउनुभयो ।

गलकोट नगरपालिकाका प्रमुख भरत गैरेले कोतघरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नेगरी रु ५० लाखभन्दा बढी खर्चेर भौतिक पूर्वाधार निर्माण गरिएको जानकारी दिनुभयो ।

उक्त कोतघरबाट दुई सय १३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएको स्थानीयको भनाइ छ । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै भगवतीको मन्दिर पनि छ ।

कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् । तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यति बेलैका मूर्ति र शिला छन् । खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार राख्नका लागि नेपाली सेनाले छुट्टै भवन समेत बनाइरहेको छ ।

कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरबार र ६० किलोका दुई खुकुरी प्रतिस्थापन गरिएपछि कोतघरमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । अहिलेको गलकोट नगरपालिकाको नामसमेत यही कोतबाट निर्माण भएको इतिहास छ । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ ।

कोतघरमा बडादसैँ र चैतेदसैँमा विशेष पूजा हुने गरेको छ । विसं १६३१ देखि १८४४ सम्म कोतघरबाट गलकोट राज्य सञ्चालन भएको थियो । रासस