१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : माधव नेपाल(भिडियो सहित )



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको बताउनुभएको छ । 

सोमबार काठमाडौँमा प्रतिनिधि सभा विघटनका विरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताउनुभएको हो । ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताउनुभयो ।  प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेसिता र धर्मनिरपेक्षता प्रति कुनै अपनत्व नभएको उहाँको भनाई छ ।

अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको पनि बताउनुभयो । उहाँले बहुमत केन्द्रीय कमिटी सदस्य आफुतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत् चल्ने जानकारी दिएको बताउनुभयो । अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचन सम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरीएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उहाँले जिकिर गर्नुभयो ।

प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताउनुभयो । देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको पनि बताउनुभयो ।