सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेशसभामा टेबल गरिएको छ ।
आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले सभासमक्ष बजेट टेबल गर्नुभएको हो ।
उहाँले सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १३५ को उपनियम ३ बमोजिम राजश्व र व्ययको वार्षिक अनुमान र सोसँग सम्बन्धित विधेयकहरूको एक/एक प्रति सभासमक्ष टेबल गर्नुभएको हो । आर्थिक मामिलामन्त्री मल्लले आजको पहिलो बैठकमा रु ३७ अर्ब ७० करोड ३९ लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि नयाँ सरकार गठन भएको थियो ।
असार २९ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । प्रदेशसभाको अर्को बैठक अब सोमबार बिहान ८ः०० बजे बस्ने सभामुख भण्डारीले सभालाई जानकारी गराउनुभयो । रासस








