काठमाडौं। नेपालका लागि चीनका राजदूत झाङ माओमिङले गोरखा जिल्लामा आज आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ।
राजदूत झाङले सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै बाढीपहिरोका कारण घर, पुल तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको र स्थानीय बासिन्दाको सुरक्षा तथा जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न भएको उल्लेख गर्नुभएको छ।
उहाँले विपद्बाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा अग्रपङ्क्तिमा रहेर निरन्तर खटिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ।
चीन नेपालसँग ऐक्यबद्धता र पारस्परिक सहयोगका साथ काम गर्न तयार रहेको उल्लेख गर्दै राजदूत झाङले नेपालको विपद् प्रतिकार्य तथा पुनःस्थापनाका लागि आफ्नो क्षमताअनुसार सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ। उहाँको सन्देशले विपद्का बेला नेपाललाई सहयोग गर्न चीन तयार रहेको स्पष्ट पारेको छ।








