तनहुँ। दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् ।
तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ ।
सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला यतिबेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन् । पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि समूहमा उत्साह थपिएको छ । स्थानीयस्तरमै उत्पादन भएको फूल बिक्री गरेर आम्दानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ ।
महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार फूलखेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएका महिला शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काममा जुटेका हुन् । पहिलो टिपाइमै माग आउनुले फूलखेतीको बजार सम्भावनालाई थप उत्साहजनक बनाएको उहाँले बताउनुभयो ।
“दमौलीमा कोसेली घर सञ्चालन गर्दै आउनुभएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गर्नुभएकाले फूल टिप्न सुरु गरेका छौँ”, गुरुङले भन्नुभयो ।
महिलालाई सामूहिक उद्यममा जोड्दै स्थानीयस्तरमा आयआर्जनको अवसर सृजना गर्ने उद्देश्यले सुरु गरिएको फूलखेतीले आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्याएको उहाँको भनाइ छ । सामूहिक रूपमा खेती गर्दा श्रम र अनुभव साटासाट गर्न सहज हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोगबाट आम्दानी गर्ने अवसर मिलेको उहाँले बताउनुभयो ।
गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्नसके महिलाको आम्दानी विस्तार गर्न सकिन्छ । स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । उहाँका अनुसार फूल प्रतिकिलो रु ४०० सम्म बिक्री हुने गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा विगत तीन वर्षदेखि सयपत्री फूलखेती हुँदै आएको छ । महिलाको सहभागितामा विस्तार हुँदै गएको यस खेतीले उनीहरूलाई उत्पादनमूलक कामसँग जोड्नुका साथै आयआर्जनको अवसर सृजना गरेको उहाँले बताउनुभयो ।
केसीका अनुसार यहाँ उत्पादित फूलको बजारमा समस्या छैन “फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ । यहाँ उत्पादित फूलको बजारमा समस्या छैन”, उहाँले भन्नुभयो ।
स्थानीयस्तरमा फूल उत्पादन र बिक्रीको सम्भावना देखिएसँगै खेतीलाई थप व्यवस्थित बनाउँदै लैजान सकिने उहाँले बताउनुभयो । महिलाको सहभागिता बढ्दै जाँदा आफ्नै श्रम र उत्पादनबाट आम्दानी गर्ने अवसर विस्तार हुँदै गएको उहाँको भनाइ छ । रासस








