• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बालबालिका खेल्ने ठाउँमा आगलागी, २७ जनाको मृत्यु



तस्विर : बीबीसी

काठमाडौं । भारत गुजरातको राजकोट शहरस्थित बालबालिका खेल्ने ठाउँ (गेम जोन)मा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । घटनास्थलबाट २५ जनाभन्दा धेरैलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा हिजो दिउँसो आगलागी भएको हो । तीन घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीमा जलेका शवहरु पहिचान गनै नसकिने अवस्थामा भेटिएका छन् । भेटिएका शवहरुका डीएनएस परीक्षण गराउने तयारी छ ।
गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक गेम जोनमा आएका थिए । त्यहाँ केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगलागी भएको बताइए पनि कारण खुल्न सकेको छैन ।

यसैबीच गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घटनाको जाँच गर्न विशेष अनुसन्धान टोली गठन गरिएको जनाएका छन् । टीआरपी गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार त्यहाँ आगो निभाउने उपकरण पनि नराखिएकाले ठूलो क्षति भएको हो । यो घटनापछि गुजरात सरकारले आगो निभाउने उपकरण नराखेका राज्यभरका सबै गेमजोन बन्द गर्न निर्देशन दिएको छ ।

घटनापछि राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।