५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति

सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति
अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा दलहरुबीच भएको सहमति अलपत्र पर्ने जोखिम बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बेलामा देखिएको राजनीतिक ध्रुवीकरणले सहकारी ठगी प्रकरण अलपत्र पर्ने देखिएको हो । समितिको कार्यक्षेत्र टुंगो लगाउन गठित कार्यदलको बैठकसमेत बस्न सकेन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बेला सोमबार संसद्मा देखिएको दृश्य नेपालको संसदीय इतिहासमै लाजमर्दो थियो । विपक्षी दलहरुलाई जबरजस्ती पेलेर नाराबाजी र होहल्लाका बीच प्रधानमन्त्रीले संसद्मा सुविधाजनक विश्वासको मत प्राप्त गर्नुभयो । प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत पाएपछि गठबन्धन दल एमाले र माओवादी केन्द्रबीचको सम्बन्ध थप कसिलो भएको छ । कांग्रेस र माओवादीबीचको सम्बन्ध टाढिएको छ ।

एमालेको ढाडसबाट प्रधानमन्त्री दाहाल थप उत्साहित भएका छन् । उनलाई सरकार सञ्चालनमा एमालेले अहिलेसम्म कतै हस्तक्षेप गरेको छैन । आफूलाई मन लागे जसरी काम गर्न पाएका प्रधानमन्त्री अब विपक्षीसँग झन् कठोर हुने देखिएका छन् । संसद्मा विश्वासको मत लिने बेलामा कांग्रेसले सहयोग नगरेको र संसद्मा अवरोध सिर्जना गरेकोप्रति आक्रोसित दाहालले इतिहासकै ठूलो गल्ती गरेको र त्यसको मूल्य आगामी चुनावमा चुकाउनुपर्ने चेतावनीसमेत दिइसकेका छन् । प्रधानमन्त्रीको यो चेतावनीलाई एमालेलाई पूर्ण साथ दिएको छ । किनकी एमालेले अब कांग्रेस–माओवादी मिलन विन्दू टाढिएको विश्लेषण गरिसकेको छ ।

प्रधानमन्त्री कतिसम्म ढुक्क देखिन्छन् भने अब गठबन्धनका साना केही दल बाहिरिएपछि उनको सत्ता जानेवाला छैन । उनले आफूले अझै १०/१२ पटक विश्वासको मत लिनुपर्ने अवस्था आउने र पाँच/छ वटा पार्टी सरकारमा आउने/जाने संकेत गरिसकेका छन् । तर एमालेसँगको सहकार्य आगामी चुनावसम्मै जानेमा उनी ढुक्क छन् । किनकी एमालेको प्रहार अहिले माओवादी केन्द्र छैन । एमालेले माओवादीलाई हौस्याएर कांग्रेसमाथि नै प्रहार गरिरहेको छ ।

प्रधानमन्त्री दाहालले अब विपक्षीलाई थप पेल्ने संकेत दिइसकेका छन् । सभामुख देवराज घिमिरेले सरकारलाई पूर्ण साथ दिएपछि संसद्मा प्रधानमन्त्री दाहालको हिम्मत बढेको छ । अब उनले सरकारको नीति तथा कार्यक्रम पारित गरेर जेठ १५ गते बजार ल्याउने तयारीमा लागेका छन् । विश्वासको मत जसरी लिइयो, त्यसैगरी बजेट ल्याउने उनको चाहना छ । तर विपक्षीलाई धेरै पेलेको आरोप लागेमा उनी अधिवेशन अन्त्य गराएर अध्यादेशको बाटोसमेत रोज्न सक्छन् ।

प्रधानमन्त्री दाहाल कति हौसिएका छन् भने अब सहकारी ठगी छानबिन गर्ने भनिएको संसदीय समितिका विषयमा पनि बोली फेर्ने संकेत दिएका छन् । दाहालकै पहलमा छानबिन समिति गठनमा एमाले र रास्वपा समिति गठनमा सहमत भएका थिए । एमाले र रास्वपाको चाहनाविपरित समिति गठन हुन लागेका बेला दाहालले अब विपक्षीलाई पेल्ने उद्देश्यले समिति गठन हुने या नहुने भन्ने भर कांग्रेसकै भएको बताइसकेका छन् । सहमतिका लागि कांग्रेस जिम्मेवार हुनुपर्ने उनको अभिव्यक्तिले सहज रुपमा समिति गठन हुन्छ भन्ने आधार देखिँदैन ।
कांग्रेसको अवरोध र नाराबाजीकै बीच विश्वासको मत लिएपछि दाहालले आफ्नो सरकार पुन: सुविधाजनक बहुमतमा भएकाले संविधानको प्रावधान अनुसार बजेट ल्याउने बताएका छन् । कांग्रेसले सहकारी छानबिन समिति बनाउन लचिलो नभए नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सत्तारुढ दलको तयारी छ ।

सभामुख घिमिरे सरकारले भनेअनुसार अघि बढ्न तयार छन् । प्रधानमन्त्री दाहाल पनि अब संसदीय समिति गठन गरेर रास्वपालाई चिढ्याउन चाहँदैनन् । बरु समिति गठन नगरी कांग्रेसलाई पेल्ने एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको रणनीतिमा सहमत देखिएका छन् ।

गत चैत २ गतेदेखि कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबीसहित संघीय संसद्का दुवै सदनमा संसदीय छानबिन समिति मागसहित आन्दोलन चलाइरहेको छ । कांग्रेसको मागमा प्रधानमन्त्री दाहाल सुरुमा केही नरम देखिएका थिए । उनले कांग्रेसलाई पनि मिलाएर लैजानुपर्ने बताउँदै आएका थिए । उनकै कारण सहकारी ठगी प्रकरण छानबिन गर्न समिति गठनमा एमाले र रास्वपा सहमत भएका थिए ।

त्यसका लागि प्रधानमन्त्री दाहालले गत शनिबार कानुनमन्त्री पदम गिरी नेतृत्वको चार सदस्यीय कार्यदलसमेत बनाए । कार्यदललाई सहकारी ठगी प्रकरण छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यक्षेत्र र कार्यादेश बनाउने जिम्मेवारी दिइयो ।

यद्यपि, संसदीय समिति गठनमा प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विमतिजस्तो देखिन्थ्यो । ओली समितिको विकल्प खोज्दै गृहमन्त्री लामिछाने र सभामुख देवराज घिमिरेसँग बाक्लो छलफलमा थिए । अब घिमिरे, ओली र लामिछानेकै लाइनमा प्रधानमन्त्री दाहाल पुगेका छन् । सकेसम्म पेलेर जाँदा उचित हुने ठम्याइमा पुगेका उनीहरुले कांग्रेस झुकेर संसद खुलाउन बाध्य हुने विश्लेषण पनि भित्रभित्रै गर्दै आएका छन् ।

यही कारण अब सरकार, सत्ता साझेदार दलहरु र प्रमुख प्रतिपक्षीबीच झन् ध्रुवीकरण बढेको छ । यो ध्रुवीकरणले सहकारी प्रकरणमा न संसदीय छानबिन समिति बन्ने देखिन्छ न त यो विषयलाई गम्भीरतापूर्वक लिएर सरकारले विपक्षीसँग नै सहमतिको प्रयास गर्ने छ ।