• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   रूग्ण उद्योग पुन:सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ: प्रधानमन्त्री ★   मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा



गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन् ।

केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि समस्या भइरहेको स्थानीय किसानको गुनासो छ । पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायत स्थानमा विगतका भन्दा बाँदर आतंक बढेको छ

पोखरा महानगरपालिकाको वडा नं ३३ को बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, बूढीखोरिया, हुँडिकोटदेखि सुरौदी फाँटसम्म बाँदरले दु:ख दिएकै कारण खेती गर्नेक्रम बर्सेनि कम हुँदै गएको अगुवा कृषक रमेश आचार्य बताउनुुहुन्छ । “फाँटतिर जेनतेन धानखेती भइरहेपनि पाखा तथा टारीतिर अधिकांश स्थानमा बाँदरकै कारण खेतबारी बाँझो छन्”, उहाँले भन्नुभयो, “राज्यले बाँदरको व्यवस्थापनसँगै त्यसबाट पीडित किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन नदिँदा बाध्य भएर अन्य खेतीतर्फ लाग्नु परेको छ ।”

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ । आँफूहरूले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा राहत तथा क्षतिपूर्तिसमेत पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगरपालिका–२६ खास्टेताल पारी भुसालटारीका स्थानीय सामूहिकरुपमा कागतीखेतीतर्फ लागेको भुसालटारी कृषक समूहका कोषाध्यक्ष विश्वराज अधिकारीले जानकारी दिनुुभयो । “खास्टेतालपारीको भुसालटारी विगतमा राम्रो धानखेती हुने ठाउँ हो । पछिल्ला वर्षमा बाँदर आतंकका कारण खेती जोगाउन मुस्किल छ । त्यसैले विकल्पका रूपमा हामीले सामूहिकरुपमा कागतीखेती गर्न थालेका छौँ ।”

कागतीखेतीलाई बाँदरले पनि खासै क्षति नगराउने भएकाले विकल्पका रुपमा यहाँको एक सय ७० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गरेका छन् । त्यहाँ तीन वर्षयता तीन हजार कागतीका बिरुवा रोपिएका छन्, तिमध्ये दुई हजार सात सय बिरुवा राम्रैसँग हुर्किरहेका छन् । सो खेतीका लागि हालसम्म रु ५० लाखभन्दा बढी लगानी भइसकेको छ । “हामीले सुरूका वर्षमा लगाएका एक हजार कागतीका बिरुवा २२ महिना पुगिसकेका छन्, दोस्रो वर्ष दुई हजार सङ्ख्यामा कागतीका बिरुवा लगाएका हौँ”, अधिकारीले भन्नुभयो, “यस वर्ष थप एक हजार पाँच सयदेखि दुई हजारसम्म बिरुवा थप्ने समूहको तयारी छ ।”

सो समूहका सञ्चालक समिति सदस्य नवराज अधिकारीले लेखनाथमा रहेका सात तालमध्येको एक खास्टेतालमा पर्यटकीय गतिविधि बढाउने गरी कागतीको बगैँचालाई व्यवस्थित र आकर्षित गर्ने समूहको दीर्घकालीन सोच रहेको बताउनुभयो । पोखरा पर्यटन राजधानी घोषणा भइसकेकाले बगैँचा व्यवस्थापन हुनसके खास्टेतालमा आउने पर्यटकको बसाई थप केही समय लम्ब्याउन सकिने सो उहाँको बुझाइ छ ।

महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी पनि बाँझा जग्गामा कागतीखेती गर्नसकेमा त्यसले कृषकको आम्दानी वृद्धिका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने बताउनुहुन्छ । कागतीमा रोग सहने शक्ति बढी हुने भएकाले बाँझा जग्गामा कागतीखेती गर्न महानगरले पनि सहयोगको नीति बनाउने उहाँले बताउनुुभयो । “कृषकलाई बाँझा जग्गामा कागतीखेतीमा लगाउन सके जमिनको उपयोगका साथै रोजगारी पनि सिर्जना गर्नै सकिन्छ । त्यसैले महानगर र सरोकार भएका निकाय मिलेर यस्ता योजना अगाडि बढाउन जरूरी छ”, उहाँले भन्नुभयो । रासस