• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय



टीकापुर । कोरियन नागरिक उ याङ छेदानको सहयोगमा कैलालीको टीकापुर– १ एकतापुरस्थित प्रगतिशील आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको छ ।

बालबालिकाका लागि शौचालयको समस्या देखेपछि टीकापुर अस्पतालमा कोइका (कोरियन सरकारको सहयोगमा) को कार्यक्रम व्यवस्थापक तथा आरसीआइका नेपालका प्रतिनिधि पार्क क्वाङ होले, छेदानको सहयोगमा शौचालय निर्माण गरिदिनु भएको हो ।

विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा छात्राका लागि सुविधा सम्पन्न पाँच कोठे शौचालय निर्माण गरिएको छ भने पुरानो शौचालयसमेत मर्मत गरिएको छ । रु छ लाख लागतमा शौचालय निर्माण गरिएको विद्यालयले जनाएको छ ।

छेदानले शौचालय उद्घाटनसँगै विद्यालयमा बालबालिकालाई खेल गतिविधिका लागि दुई थान फुटबल, दुई थान भलिबल, स्पीकिङ, हावा भर्ने पम्पसमेत सहयोग गर्नुभएको छ । कार्यक्रममा सामान सहयोग गर्दै पार्क क्वाङ हो ले चिटिक्क परेको शौचालय उपहार दिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले विद्यालय तथा बस्तीमा गरिबी देखेपछि यहाँका बालबालिकालाई सजिलो होस् भनेर सहयोग गरेको बताउनुभयो ।

“यहाँ पढ्ने बालबालिका विपन्न समुदायका देखेँ, सधैँ यही बाटो साइकलमा हिँड्छु”, छेदानले भन्नुभयो, “विगतमा म पनि यस्तै विद्यालयमा पढेको थिएँ । यहाँको स्वास्थ्य र सरसफाइमा सहयोग पुगोस् भनी शौचालय बनाइदिएको हुँ ।”

कार्यक्रममा वडा नं १ का वडा सदस्य नरेश विकले विद्यालयलाई वडा कार्यालयबाटसमेत सहयोग हुँदै आएको बताउँदै आउँदा दिनमा पनि व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “अव्यवस्थित बस्तीमा रहेको विद्यालय भएकाले पालिकाले सहयोग गर्न कठिनाइ हुने गरेको छ”, उहाँले भन्नुभयो, “मेरो व्यक्तिगत तर्फबाट भए पनि विद्यालयमा लगानी भित्र्याउने छु ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालीले कोरियन नागरिक भएर पनि ठूलो सहयोग गरेको बताउँदै विद्यालयको अवस्था दयनीय भएकाले सघाउन पालिकालाई अनुरोध गर्नुभयो । उहाँका अनुसार विभिन्न दाताको सहयोगमा विद्यालयमा टिनका छानासहितका भवन निर्माण गरिएका छन् ।

बालविकास कक्षाका बालबालिका बस्ने ठाउँ जीर्ण रहेका भन्दै दिवा खाजा पकाउने भान्साको समेत समस्या रहेको प्रधानाध्यापक हृदयराज रेग्मीले बताउनुभयो । रासस