• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काँग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ ।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा काँग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गर्नुभएको भन्दै काँग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताउनु भयो । उहाँले काँग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भएपनि काँग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताउनु भयो । उहाँले माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम काँग्रेसले गरेको बताउनु भयो । उहाँले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर काँग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली काँग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली काँगे्रसले जे गर्‍यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो । मैले सम्मानित आदरणाीय नेता, मैले धेरै आदार पनि गर्छु, उहाँलाई विनम्रताका साथ आग्रह गर्दछु । तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ । तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने काँग्रेस हो । बिर्सिनु भयो । हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईंलाई शान्तिमा कसले ल्याएको हो । तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर नेपालको एउटा राजनीतिक दलमा स्थापित गर्न काँग्रेसको सहयोग र भुमिका छैन ? यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने । भोलिका दिनमा मूल्य चुकाउनुपर्ला ? के चुकाउनुपर्छ । तपाईंहरु गैरजिम्मेवार भएर निरंकुशतातिर जाने, सहकारीको रकम हिनाममिना भइसक्यो । फिर्ता गराउने कार्यक्रम र कार्ययोजना छैन । कारबाही गर्ने योजना छैन । नेपाली काँग्रेसका बिरुद्धमा गैरजिम्मेवारपूर्ण ढंगबाट लाञ्छना लगाउने कुरा र बोल्ने कुरा बन्द गर्नुस् । धेरै धम्क्याएर र तर्साएर काँग्रेस धम्किने पार्टी होइन ।’

उहाँले संसदमा आज भएका गतिविधि शोभनीय नरहेको काँग्रेसको ठहर रहेको बताउनु भयो ।