१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक द्वन्द्वले सरकारको नीति तथा कार्यक्रम नै अन्योल



अ+ अ-

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्योलमा परेको छ । सरकारले आज संघीय संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको भए पनि दलहरुबीच सहमति जुट्न नसक्दा सदन चल्ने वा नचल्ने निश्चित छैन ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने नेपाली कांग्रेसको अडानका कारण संसद् अबरुद्ध छ । कांग्रेसले अघिल्लो अधिवेशनदेखि नै सदनको काम प्रभावकारी हुन दिएको छैन ।

गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठन नभएसम्म आज पनि संसद् चल्न नदिने चेतावनी कांग्रेसको छ ।

संघीय संसद्को दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने अभ्यास छ ।

त्यसअनुरुप अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भोलि दिउँसो ३ बजे आयोजना हुने सङ्घीय संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको छ ।

सङ्घीय संसद् सचिवालयले संयुक्त बैठकका लागि आवश्यक तयारी पूरा गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा उपस्थित हुन संसद् सचिवालयले उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत विशिष्ट अतिथिलाई निमन्त्रणा पठाएको छ ।

बैठकमा उपस्थित हुन राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यलाई सचिवालयले यसअघि सार्वजनिक सूचनामार्फत आमन्त्रण गरिसकेको छ । त्यस कार्यक्रममा सहभागी हुन संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीटिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी/व्यावसायी, समाजका लब्धप्रतिष्ठित व्यक्ति र सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको सचिवालयले जनाएको छ ।