• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   ‘विकास पुरस्कार –२०८१’ बाट सांसद डा. दवेकोटा सम्मानित ★   ‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’ ★   शनिबार भक्तपुरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य ★   पाकिस्तान भर्सेस अमेरिकाः नाम अमेरिका, जिताउने ‘भारतीय’ ★   विश्वकप छनोटः नेपाल यूएईसँग ४–० ले पराजित ★   मधेसमा सतिश सिंह मुख्यमन्त्री बन्दै, सपथ आजै ★   गठबन्धनमा खटपट : बजेटमा असन्तुष्ट एमाले मन्त्री फेर्नसमेत असहमत ! ★   टी–२० विश्वकपः पाकिस्तान पहिलो पटक आईसीसीको पूर्ण सदस्य नभएको टोलीसँग पराजित ★   नेसनल चेस च्याम्पियनसिप; खुल्लातर्फ राजन सुवेदी र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन ★   रातारात धन कमाउने चाहनाले समाजमा अपराध  बढ्यो 

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर



मुग्लिन (चितवन) । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो ।

‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष धु्रव गिरीले बताउनुभयो । उहाँका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो ।

रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताउनुभयो । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा वडाध्यक्ष महतोले आर्थिक अभावका कारण घर बनाउन सक्ने अवस्थामा नरहेका समुदायलाई सपना भिलेजसँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरिएको बताउनुभयो । प्रतिघर निर्माण गर्न रु सात लाख ५० हजार खर्च भएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो । भिलेजले प्रतिघर रु सात लाख र वडा कार्यालयले प्रतिघर रु ५० हजार लगानी गरेका छन् ।

सपना भिलेजका अध्यक्ष गिरीका अनुसार २०६९ सालदेखि विपन्नका लागि आवास निर्माण थालिएको हो । सीमान्तकृत मुसहर समुदायका लागि २१ घर पुन:निर्माणसहित जिल्लाका विभिन्न पालिकाका अतिविपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको उहाँको भनाइ छ ।

सपना भिलेजले अहिले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायका लागि काम गरिरहेको छ । चेपाङ समुदायका लागि जीविकोपार्जनको आधार तयार गर्न, विद्यालय खाजा कार्यक्रम, विद्यालय भवन निर्माण, चेपाङ समुदायकै सहभागितामा कफी खेती, तरकारी खेतीलगायत काम भइरहेको छ । इच्छाकामना–१ स्थित  राष्ट्रिय आधारभूत विद्यालय भाराङ्मा आवाससहितको पक्की भवन निर्माण भइरहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । रासस