• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   दोषी करार गर्ने ढंगले काँग्रेसले प्रस्ताव ल्याएको मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु

नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा



काठमाडौं । नेपालगञ्ज एकीकृत जाँच चौकी औपचारिक रुपमा सञ्चालन शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीज्यूले एक कार्यक्रमका बीच सोमबार जाँच चौकी सञ्चालनको शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भमा नेपालबाट प्लाइउड बोकेको दुई वटा ट्रक भारत तर्फ निर्यात भएको थियो भने फ्लाइ एस लिएर आएको एक ट्रक नेपाल प्रवेश गरेको थियो । कार्यक्रममा मन्त्री भण्डारीले एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि मध्य पश्चिम क्षेत्रको व्यापारलाई बढोत्तरी गरी देशको अर्थतन्त्र उकास्न मद्दत पुग्ने धारण व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतज्यू र वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरे, भन्सार विभागमा महानिर्देशक श्री ढुण्डीप्रसाद निरौला, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपाल फ्रेट फरवार्डर्स एशोसियशनका अध्यक्ष श्री मनोज अधिकारी, नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

शुभारम्भ कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेज्यूले एकीकृत जाँच चौकीको सञ्चालनले निर्यात प्रवद्र्धन गर्नुको साथै आयात निर्यातलाई सहज बनाउने बताउनु भयो । वहाँले एकीकृत जाँच चौकी निर्माणको लागि भारत सरकार, निर्माणकर्ता र आईसीपी निर्माणमा सहयोग गर्ने सबै निकाय लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनु भयो ।

भन्सार विभागमा महानिर्देशक ढुण्डीप्रसाद निरौलाले आईसीपी सञ्चालनमा आएपछि सामान निकासी पैठारीमा सहजता हुनुको साथै चोरी निकासीमा नियन्त्रण भई राजश्वमा बृद्धि हुने बताउनु भयो ।

नेपाल–भारतका जनता वीचको सञ्चार एवं व्यापारिक कारोवार सुधार गर्न र दुई देश वीच विद्यमान व्यापार, वाणिज्य तथा आर्थिक सहयोगका क्षेत्रमा लामो समय देखि रहिआएको सम्बन्धलाई थप सुदृढ र विविधीकरण गर्ननेपाल–भारत वीच चार सीमा नाका (विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज)हरुमा व्यवस्थित रुपमादुवै तर्फ समान रुपमा एकीकृत जाँच चौकीको निर्माण गर्न नेपाल सरकार र भारत सरकारवीच अगष्ट ३, २००५ मा भएको हो । उक्त समझदारीअनुरुप वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने यस नेपालगञ्ज एकिकृत जाँच चौकीको निर्माण कार्य २०७७ साल असोज २६ गते शुरु भई २०८० फागुनमा निर्माण सम्पन्न भएको हो ।

कुल ४५.८१ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीमा पहिलो चरणमा १८.०५ हेक्टरमा संरचनाहरुको निर्माण भएको छ ।
यो एकीकृत जाँच चौकीमा कुल आयात तर्फ २०० वटा र निर्यात तर्फ ७५ वटा ट्रकहरुको लागि पार्किङ क्षेत्र, भान्सार, अध्यागमन, क्वारेन्टिन, सुरक्षा, अपरेटर कम्पनी, बैंक लगायतका अन्य संरचनाका लागि भवन, आयातको ३ वटा गोदाम, एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड, धर्मकाँटा, विद्यूतीय सवस्टेशन, वाउण्ड्री लाइट लगायतका महत्वपूर्ण पूर्वाधारहरु निर्माण भएका छन् ।

करिब भारतीय रुपयाँ २०० करोडको लागतमा निर्माण सम्पन्न भएको यस जाँच चौकीको उद्घाटन गत वर्षको जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रुपमा भएको हो ।

यस एकीकृत जाँच चौकी भारत सरकारबाट यही वैशाख ९ गते नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई बाँकेलाई हस्तान्तरण भई उक्त इकाई मार्फत यस समितिलाई हस्तान्तरण प्राप्त भएको हो ।

यस एकीकृत जाँच चौकीको व्यवस्थापन तथा सञ्चालनका लागि समितिले अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव (बोलपत्र) आव्हान गरी छनौट भएको एटलस टर्मिनल जे.भि.ले कानून बमोजिम दर्ता गरेको संयुक्त लगानीको कम्पनी टि.आर.एस. एटलस लोजिपार्क प्रा.लि. संग पाँच वर्षको लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा वहाल रकम र नियमानुसार महशुल वाँडफाँड गर्ने गरी समिति र उक्त कम्पनी वीच मिति २०८०।०७।२२ (तदनुसार, ८ नोभेम्बर २०२३) मा करार सम्झौता सम्पन्न भएको हो ।

एकीकृत जाँच चौकी समितिलाई प्राप्त भएपछि र मिति २०८१।०१।०९ मा टि.आर.एस. एटलस लोजिपार्क प्रा.लि. लाई ५ वर्षको लागि सञ्चालन तथा व्यवस्थापन गर्नको लागि हस्तान्तरण भैसकेको छ । यस कम्पनीले सोमबारबाटै एकीकृत जाँचको सञ्चालन तथा व्यवस्थापन कार्यशुरु गरिसकेको छ ।

कार्यक्रममासमितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपालको वैदेशिक व्यापार प्रवद्र्धन र सहजीकरणका लागि सरकारले व्यापार पूर्वाधार निर्माणको क्रममा भारत र चीनसँग जोडिएका भन्सार विन्दुहरु वीरगन्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा, तातोपानी र काठमाण्डौमा गरी ७ वटा सुख्खा बन्दरगाह/एकीकृत जाँच चौकीहरु संचालनमा ल्याइसकेको र नेपालगञ्ज एकीकृत जाँच चौकी ८ औं जाँच चौकीको रुपमा सञ्चालन शुरु भएको बताउँदै र थप आइसीपी निर्माणको लागि अध्ययन गर्नु पर्ने धारणा राख्नु भयो ।

कार्यकारी निर्देशकले मुलुकमा मालवस्तु आयात र निर्यातमा लाग्ने समय र लागतमा वृद्धि भइरहेको अवस्थामा यो जाँच चौकीको निर्माणले आन्तरिक एवं वैदेशिक व्यापार सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।

साथै, हाल नेपाल भारत वीच भएको लेटर अफ एक्सजेन्जमा विराटनगरमा रेल मार्फत ४ वटा मात्र मालवस्तु ल्याउन पाउने प्रावधान रहेकोमा अन्य मालवस्तुहरु समेत ल्याउन पाउने व्यवस्था भएमा विराटनगरमा कार्गो रेल सञ्चालनमा मद्दत पुग्ने बताउनुभयो ।

उहाँले मुलुकको आर्थिक गतिविधिमा बढ्दै गएको बैदेशिक व्यापारको मात्रासँगै सुक्खा बन्दरगाह/एकीकृत जाँच चौकीलाई थप व्यवस्थित र पूर्वाधार सम्पन्न बनाउँदै जानुपर्ने आवश्यकता भएको र व्यापार सहजीकरणका लागि यस्ता पूर्वाधारको निर्माणलाई प्राथमिकता दिई नयाँ पूर्वाधार निर्माणका साथै संचालनमा आएका यस्ता संरचनाहरुको क्षमता विस्तार र प्रभावकारी व्यवस्थापनको लागि नेपाल इन्टरमोडल यातायात विकास समितिलाई समय सापेक्ष अधिकार सम्पन्न प्राधिकरण बनाई थप सक्षम बनाउँदै लानु पर्ने बताउनुभयो ।