• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ५ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिनेसहितका प्रदेशसभाका एजेन्डा तय गर्ने छ ।

नेकपा एकीकृत समाजवादीका नेता सोडारीलाई विश्वासको मत दिने गठबन्धन दल माओवादी केन्द्रले भने ह्विप नै जारी गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहँदा गठबन्धन दल नेकपा एमालेले भने अझै अनिर्णित छ । एमालेले सोडारीलाई विश्वासको मतका लागि नहतारिन भनेको छ ।

सोडारीलाई मुख्यमन्त्री बनाउन सुरुवाती दिनमै नेकपा एमालेले चाहेको थिएन । तर गठबन्धन नै धरापमा पर्ने भएपछि एमाले बाध्य भएको हो । अहिले पनि सकेसम्म सोडारीलाई हटाएर गठबन्धन कसरी टिकाउन सकिन्छ भन्ने छलफलमा एमाले छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको विश्वासको मतलगायतका विषयमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको थियो ।

सुदूरपश्चिमका एमाले नेताहरु विश्वासको मत दिने गरी केन्द्रबाट कुनै निर्णय र निर्देशन नआएको बताउँछन् । एमालेले पनि कुनै निर्णय गरेको छैन । एमालेका नेताहरु भोलि मात्र विश्वासको मतका विषयमा निर्णय हुने बताउँछन् ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बझाङ प्रदेशसभा सदस्यका लागि वैशाख १५ मा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीले सहमति विपरीत एमाले उम्मेदवार हराउन लागि परेकाले सुदूरपश्चिम सरकारबारे सोच्नुपर्ने अवस्था आएको बताएका छन् । ‘उपनिर्वाचनमा एकीकृत समाजवादी र एमाले नेताहरूबिच एमाले उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको हो तर उहाँहरू एमाले उम्मेदवारलाई नै हराउन लाग्नुभयो’, थापाले भने, ‘सहमति एउटा, काम अर्को भएपछि विश्वासमा सङ्कट थपियो ।’

यता नागरिक उन्मुक्ति पार्टीमा रेशम पक्षका पाँच प्रदेशसभा सदस्यले पनि विश्वासको मत नदिने भएका छन् । रन्जिता श्रेष्ठ पक्षका दुई जनाले भने विश्वासको मत दिने तयारीमा छन् ।उनीहरु दुबै जना प्रदेश सरकारमा सहभागी छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन बहुमत अर्थात् २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । तर, एमालेले समाचार तयार पार्दासम्म विश्वासको मत दिने विषयमा ठोस निर्णय गरेको छैन ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई जेठ ५ गते सम्मको समय छ । एमालेले अझै समय बाकी रहेको हुँदा हतार नगर्न मुख्यमन्त्रीलाई सुझाब दिएको छ । बझाङ बाट निर्वाचित दमन भण्डारीले पनि अझै शपथ लिएका छैनन् । एमालेले उनको सपथ ग्रहण पछि मात्रै विश्वासको मतको विषयमा छलफल हुने बताएको छ ।

यता विपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने बताएको छ । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ ।