२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै



अ+ अ-

भजनी, (कैलाली) । बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो ।

वर्षौँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन उच्च घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

नगरपालिकाले गत वर्ष वडा नं ५ मा १६ वटा सुरक्षित उच्च आवास निर्माण गरेको थियो । बर्सेनि अन्य सङ्घसंस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

स्थानीय छेदु डगौराले उच्च घर निर्माण भएपछि बर्सेनिको बाढी र डुबानबाट छुटकारा पाइने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले वर्षौँदेखिको सरकारसँगको माग अहिले आएर पूरा भएको बताउनुभएको छ । “वर्षौँदेखिको हाम्रो पीडा सरकारले सुनेको छ । हामीले सरकारसँग माग्दै आएको माग अब पूरा हुँदै छ । महिनौँसम्म बाढीका कारण सडकमा बस्नुपर्ने हाम्रो बाध्यता अब सधैँका लागि अन्त्य हुनेमा विश्वस्त छौँ ।”

स्थानीय शिवजी डगौरा पनि उच्च घर निर्माण हुन थालेपछि यतिबेला उत्साहित बन्नुभएको छ । घरको सबै जायजेथा बोकेर महिनौँ सडकमा त्रिपालमुनि बस्नुको पीडाबाट छुटकारा पाउने आशामा शिवजी उत्साहित बन्नुभएको हो ।

पकरियापुरमा एउटा नमूना घरसहित २५ घर निर्माण भइरहेका छन् । सत्तरी लाख ४९ हजार नौ सय २२ लागतमा निर्माण हुनलागेको ती घरका लागि नगरपालिकाको रु २४ लाख लगानी छ । त्यसमा राष्ट्रिय दलित नेटवर्कले रु २१ लाख २९ हजार छ सय लगानी गर्दा रु २५ लाख ३० हजार तीन सय २२ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ । एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भइरहेको छ ।

राष्ट्रिय दलित नेटवर्कका लालबहादुर डगौरा थारूले संस्थामार्फत सञ्चालित सुरक्षित आवास परियोजनाले सरकारसँग सहकार्य गर्दै विपन्न वर्गका आवास निर्माणका काम गर्दै आएको बताउनुभएको छ । “प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारीमा विभिन्न स्थानीय तहमा आवश्यकतानुसारको आवास निर्माणको काम गर्दै आएका छौँ”, उहाँ भन्नुहुन्छ, “खासगरी सामाजिक तथा आर्थिक रूपमा कमजोर नागरिकलाई सुरक्षित आवास निर्माण गर्ने काम हुँदै आएको छ ।” परियोजनाले यसअघि कैलारी गाउँपालिकाको विपतपुरमा २७, लम्कीचुहा नगरपालिकामा २०, घोडाघोडी नगरपालिकामा १२ घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिसकेको थारूले बताउनुभयो । रासस