• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती



इलाम : वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्य चयनको उपनिर्वाचनले पहिलो पुस्ताको राजनीतिलाई औपचारिक विदाई गर्दै नयाँ पुस्तामा शक्ति हस्तान्तरण गर्ने छ । अहिले राष्ट्रकै चासो बनेको यो उपनिर्वाचन दलहरुले भन्दै आएको मिशन ८४ को परीक्षा पनि बनेको छ ।

सबै दल कस्सिएर लागेका छन् । जित्ने दाउमा छन् सबै । हुन पनि हो नै, हार्नका लागि को उठ्छन् र ? अहिले देशका धेरै शक्तिको परीक्षणको मैदान बनेको इलाम क्षेत्र नम्बर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबारदेखि इलामलाई नै मुुकाम बनाएर बसेका छन् । नेपाली काँग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले इलामको बिभिन्न कार्यक्रम सकेर फर्किसक्दा अर्का महामन्त्री विश्वप्रकाश शर्मा चुनावी कमाण्डरको हैसियतले उतै छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा इलाममा जितकाे झण्डा गाड्ने उद्घोषका साथ धेरै नेता उतै व्यस्त छन् । सभापति रवि लामिछानेले उम्मेद्वारी घोषणादेखि अन्य बिभिन्न कार्यक्रममा पनि उपस्थिति जनाए । सो दलका स्वर्णीम वाग्लेलगायतका शीर्ष नेता एवं मन्त्रीको पनि इलाममा बाक्लो आउजाउ छ ।

सत्ता गठबन्धनबाट टिकटको आकांक्षी देखिएका झलनाथ खनाल अन्तत: नेकपा एकीकृत समाजवादीको चुनावी कमाण्डर बनेर उतै व्यस्त छन् । योसँगै पहिचानको मुद्दा बोकेर कोशी प्रदेशलाई जीवन मरणको सवाल बनाएको पहिचान पक्षधरहरुको सक्रियता पनि चुलिएको छ । यस बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दल तथा उम्मेद्वारहरु पनि सक्रिय छन् ।

इलाम परम्परागतरुपमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको शक्ति संघर्षको मैदान हो । जस्मा धेरै पटक बाजी एमालेले नै मारेको छ । यस पटक पनि एमाले यही विरासत जोगाउने प्रयासमा छ । पहिला पितालाई निरन्तरता दिएको इलाम २ ले यसपटक पुत्रलाई निरन्तर गराउनेमा एमाले विश्वस्त छ । २५ भदौमा एमाले नेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको असमायिक निधन पछि रिक्त बनेको यो क्षेत्रमा एमालेले उनैका पुत्र सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाएको छ । गाउँगाउँ र घरदैलोमा व्यस्त छन् सुहाङ ।

इलाम गाउँठाउँका लागि मात्र नभई स्वयं इलाम नगरपालिका क्षेत्र भित्रै व्यक्तिगतरुमा अपरिचित रहेका सुहाङसँग भएको सिंगो परिचय र पहिचान उनका पिता सुवास नेम्वाङ नै हुन् । इलाम कम बसेका सुहाङ विगत ४ महिनादेखि भने निरन्तर जसो इलाममा नै छन् । नेकपा एमालेले उनलाई अघि सार्नु पनि युवा हुनुका साथै ०८४ को परीक्षण नै ठानेको छ । एमालेबाट अन्य धेरै काबिल र त्याग गरेका आकांक्षी भए पनि अध्यक्ष ओलीको व्यक्तिगत चाहनामा आशीर्वाद सुहाङले पाएका हुन् ।

स्वभावले विद्रोह रुचाउने एमाले कार्यकर्ताका लागि पारिवारिक निरन्तरता अर्थात वंशवाद प्रिय नलागे पनि भोट क्रस गर्न र  अन्तर्घात गर्न भने हम्मेसी चाहँदैनन । यो वानीले सुहाङलाई फाइदा पुग्ने देखिए पनि कोशी प्रदेश नामकरणमा मुख्य भूमिका निभाएको भन्दै एमाले पहिचान पक्षधरको तारो बनेको छ । जस्को कारण डेकेन्द्र सिंह थेगिमले सहानुभूति बटुल्न सक्ने सम्भावनालाई नकार्न मिल्दैन । जस्को थोर वहुत हिसाब एमालेले मिलाउनै पर्ने अवस्था छ । यस्का लागि एमालेले नेकपा माओवादी केन्द्रको मत माथि बढी भरोसा राखेको छ । माओवादीले आफ्नो उम्मेद्वारी नदिई एमाले उम्मेद्वारलाई सहयोग गर्न निर्णय गरिसकेको छ ।

यता नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका कांग्रेस इलाम जिल्ला सभापति डम्बर खड्का यस अघि सुवास नेम्वाङसँग १ सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए । तर त्यतिखेर झण्डै सात घण्टा रोकिएको मतगणना र शीर्ष तहमा भएको भनिएको अपुष्ट सहमतिले खड्का हार स्वीकार बाध्य बनेको धेरै इलामेलाई थाहा नै छ ।

यसपटक खड्का सो हारको बदला लिन प्रयासमा छन् । तर इलाम कांग्रेसभित्रको ठूलो जनमत नेता भेषराज आचार्यप्रति रहेको र यसपटक जित्नसक्ने नेताकोरुपमा क्षेत्र, जिल्ला र प्रदेशले आचार्यलाई एक नम्बरमा राखेर सिफारिस गरेपनि पार्टी सभापति शेरबहादुर देउवाको असीम अनुकम्पाले उनै खड्काले टिकट हात पारे । जसप्रतिको असन्तुष्टि सेलाउन निकै गारो परेपनि महामन्त्री थापा र वरिष्ठ नेता कोइरालाको इलाम भ्रमण पछि अवस्था धेरै सम्हालिएको अनुभव कांग्रेस कार्यकर्ताहरुले गरेका छन् । अन्र्तघात र असन्तुष्टिको असर व्यालेटमा नपरे कांग्रेस इलाममा फर्किनेमा धेरै आशावादी पनि छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा इलाम २ मा जित हात पारेर सहकारी ठगीमा लागेको आरोपको जवाफ दिने तयारीमा छ । यो उस्को लागि उसैले भनेको र सुरु गरेको मिशन ८४ को परीक्षा पनि हो । तर इलाममा सुरुवातदेखिको गतिविधि हेर्दा उस्को पक्षमा माहौल अझै बन्न नसकेको प्रष्ट छ । माओवादीका पूर्व कार्यकर्ता एवं पत्रकार मिलन लिम्बूलाई आफ्नो दलको खास उम्मेद्वार भन्दा पनि घण्टीवाहक मात्र भनेर समर्थन गरेको रास्वपाले उनैबाट जितको आशा गर्नु निकै ठूलो चुनौती बन्ने निश्चित छ ।

कांग्रेस नेतृत्वले दिने गरेको अलोकप्रिय उम्मेद्वार र केही निर्वाचन क्षेत्रमा एमालेले गरिदिएको भरथेगले राम्रो फाइदा उठाउने गरेको रास्वपाले यसपटक कांग्रेसको निर्णयको प्रतीक्षा नगरी उम्मेवद्वारी दिनु हतारिनुलाई पनि इलाम २ संगठन विस्तारको कडीमा मात्र उस्ले राखेको बुझ्न कठिन पर्दैन । यस अघिको निर्वाचनमा प्रत्यक्षतर्फ एक हजार ३६३ मत पाएको रास्वपाले समानुपातिकतर्फ चार हजार ६ सय ८६ मत बटुलेको थियो । यद्धपि यसपटक जित मिलन लिम्बूकै हुनेमा रास्वपा ढुक्क र निर्धक्क छ । सामाजिक सञ्जालमा त लिम्बूलाई फूलमाला र अबिर लगाइदिन मात्र बाँकी छ ।

यता पछिल्लो समय कोशीबाट चर्किएको पहिचानको मुद्दाको परीक्षा पनि इलाम २ नै हुने भएको छ । कोशी प्रदेशमा लिम्बू र राईको बहुल रहेको र राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने इलाममा पहिचान पक्षधरको जित र हारले पनि ठूलो प्रभाव पार्ने पक्का छ । एमालेका पूर्व कार्यकर्ता डेकेन्द्रसिंह थेगिम स्थानीय मात्र नभइ पहिचानको राजनीतिमा पछिल्लो समय डटेर लागेको व्यक्ति हुन् । यसपटक उनको उपस्थितिलाई धेरैले ‘प्रभाव पार्न सक्ने पात्र’ कोरुपमा समेत लिएका छन् ।

मुख्य चर्चामा रहेका यी दलहरु बाहेक अन्य दलहरुको दौड पनि इलाममा उल्लेख्य छ । मत परिणाम यसै भनेर किटान गरिहाल्न नसक्ने अवस्थामा अन्य दलहरुले ल्याउने मतले पनि उत्तारचढाव कायम गर्ने अवस्था छ ।

पञ्चायतविरुद्वको आन्दोलनमा जीवनको धेरै उर्जा सकेका र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निभाएका पहिलो पुस्ताका नेताहरु नेपाली काँग्रेसका केबि गुरुङ, नेकपा एसका झलनाथ खनाल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई छाडेर वैशाख १५ गतेले नयाँ पुस्तामा इलाम २ को शक्ति हस्तान्तरण गर्दैछ ।

देशमा नाम कमाएका नेताहरु भए पनि इलामको कर्णाली भनेर चिनिएको क्षेत्र नम्बर २ मा गर्न धेरै बाँकी छ । मूल्यविहीन बन्दै गएको चियावगान, मूल्य नपाएर निराश बनेका दूग्ध व्यवसायी किसान, अदुवा खेतीले चित्त बुझाउन नसकेको अवस्था, अलैचीमा मूल्यको एकरुपताको अभाव र वाटोघाटो, शिक्षा, रोजगार र स्वास्थ्य इलाम २ को पेचिलो समस्या हो ।

अहिले उठेका सबै उम्मेद्वार युवा छन, उनीहरुले अहिले नै राष्ट्रिय राजनीतितर्फ ध्यान नदिनु पर्ने हुँदा गाउँठाउँमा ध्यान देलान कि भन्ने आशा भने अधिकांश मतदाताको छ ।