२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्ष २०८१ साल हर्षोल्लासका साथ मनाइँदै



अ+ अ-

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा एक आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै छ । विदेशमा रहेका नेपालीले नयाँ वर्ष शुभकामना साटासाट गरेर मनाउँछन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।
नयाँ वर्षमा एक अर्कालाई शुभकामना दिने र मिष्ठान्न भोजन खाने चलन छ ।

नयाँ वर्षका अवसरमा साँस्कृतिक उत्सव आयोजनासमेत भइरहेका छन् ।

सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परासमेत छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।

१२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविदहरू बताउँछन् ।