काठमाडौं । बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेकपा एमालेले प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि युवा स्वयंसेवक फोर्सका स्वयंसेवकहरूलाई परिचालन गरी बिदाइ गर्ने क्रममा सहयोग घोषणा गरिएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
एमाले बागमती प्रदेश कमिटी र राजधानी प्रदेश कमिटीले क्रमशः १०/१० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने घोषणा गरेका हुन्। साथै, पार्टीका सबै तहका कमिटीबाट सहयोग संकलन गरी थप एकमुष्ट सहयोग गर्ने तयारी रहेको एमालेले जनाएको छ।
यसअघि एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले सचिव डा. राजन भट्टराई, नीति अध्ययन प्रतिष्ठानका प्रमुख विष्णु रिमाल, जनसंगठन समन्वय संयन्त्र प्रमुख विशाल भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, प्रचार विभाग प्रमुख निरज आचार्य, केन्द्रीय सदस्य पार्वत गुरुङ, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक/प्रहरी सङ्गठनका अध्यक्ष सहायक रथि विनोद पाण्डे(अप्र), युवा तथा खेलकुद विभाग प्रमुख अमित लामा,प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायतले बिहीबार नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिएका थिए।
टोलीले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतको आवश्यकता र तत्काल गर्नुपर्ने कामबारे स्थानीयसँग जानकारी लिएको थियो। एमालेले विपद्को समयमा पार्टीका नेता तथा कार्यकर्तालाई राहत, उद्धार तथा स्वयंसेवी कार्यमा परिचालन गर्ने जनाएको छ।









