• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

आईपीएलमा आज कडा टक्कर: चेन्नई र हैदरावाद भिड्दै, यस्तो छ हेड-टु-हेड



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को १८ औं खेलमा आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स खेल्दैछन् । हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनलागेको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ ।

यो सिजन दुवै टोलीले आज चौथो खेल खेल्दैछन् । हैदरावादले तीन खेलमा दुईमा हार र एकमा जित हात पारेको छ । यता, चेन्नई भने दुई खेल जित्दा अन्तिम खेलमा दिल्लीसँग पराजित भएको थियो ।

चेन्नई सुपर किंग्सका मुस्ताफिजुर रहमान आजको खेलमा खेल्ने निश्चित छैनन्। रहमान अमेरिकाको भिसासम्बन्धी कामका लागि स्वदेश फर्किएका छन् । रहमान हाल ७ विकेट लिएर पर्पल क्याप होल्डर हुन्।

हेड-टु-हेड

आइपिएलमा हैदरावाद र चेन्नईबीच हालसम्म १९ खेल खेलिएका छन् । जसमा चेन्नईले १४ र हैदरावादले ५ खेल जितेको छ । चेन्नईले हैदरावादविरुद्ध ७४५ खेल जितेको छ ।

राजीव गान्धी स्टेडियममा भने दुवै टोलीको कीर्तिमान बराबर छ । हैदराबाद र चेन्नईबीच अहिलेसम्म यहाँ कुल ४ खेल खेलिएको छ। जसमा दुबै टोलीले दुई दुई खेल जितेका छन् ।

हैदरावाद पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग चार रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई पराजित गर्दै टोलीले जितको खाता खोलेको थियो भने तेस्रो खेलमा गुजरात टाइटन्ससँग ७ विकेटले हार बेहोरेको थियो ।

टोलीका लागि हेनरिक क्लासेनले सर्वाधिक रन बनाएका छन् । उनले तीन खेलमा १६७ रन बनाएका छन् । यस्तै, कप्तान प्याट कमिन्सले सर्वाधिक विकेट लिएका छन् ।

यता, चेन्नईले ले भने आफ्नो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हराएको थियो भने तेस्रो खेलमा दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो ।

अलराउन्डर शिवम दुबेले टोलीको लागि सर्वाधिक रन बनाएका छन् । उनले तीन खेलमा एक अर्धशतकको सहयोगमा १०३ रन बनाएाका छन् । मुस्ताफिजुर रहमानले सर्वाधिक विकेट लिएका छन् ।

पिच रिपोर्ट

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम आफ्नो समतल विकेटको लागि परिचित छ। यहाँको पिच ब्याटिङमैत्री छ । यो मैदानमा हाई स्कोरिङ खेलहरू देखिएका छन्।

यस रंगशालामा हालसम्म ७२ आईपीएल खेल भइसकेका छन्, जसमध्ये ३२ खेल पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले जितेको छ भने ४० खेल लक्ष्य पछ्याएको टोलीले जितेको छ ।

मौसम अवस्था

हैदरावादमा आजको मौसम तातो रहने बताईएको छ । यहाँको तापक्रम ४१ देखि २८ डिग्रीसम्म रहने अनुमान गरिएको छ ।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, मयंक अग्रवाल, अभिषेक शर्मा, एडेन मार्कराम, हेनरिक क्लासेन, अब्दुल समद, शाहबाज अहमद, जयदेव उनाडकट, भुवनेश्वर कुमार र मयंक मार्कंडे।
इम्प्याक्ट प्लेयर: उमरान मलिक।

चेन्नई सुपर किंग्सको सम्भावित प्लेईङ ११:

रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिंक्य रहाणे, डेरिल मिचेल, रवीन्द्र जडेजा, समीर रिजवी, एमएस धोनी (विकेटकिपर), दीपक चाहर, तुषार देशपांडे, मथिशा पाथिराना र महिश तिक्षाना।
इम्प्याक्ट प्लेयर: शिवम दुबे।