६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको विकट गाउँ सडक सञ्जालमा जोडियो



अ+ अ-

म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।

धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताउनुभयो । “खाम्ला–केङ्की–नाउरा हुँदै बगर जोड्ने मूल सडक निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “केङ्कीबाट खिवाङ जोड्ने शाखा सडक निर्माण हालै पूरा भएको हो ।” सडक निर्माण भएपछि खिवाङका एक सय ८० घरपरिवार लाभान्वित भएका उहाँले बताउनुभयो । सो सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन् ।

पैसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी ९१० र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरिएको बताउनुभयो । अपर म्याग्दी जलविद्युत् आयोजनाका संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताउनुभयो । गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधीन छ ।

जलविद्युत् आयोजनाले नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने कामलाई पनि अन्तिम चरणमा पुर्याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । रासस