८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम

जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम
अ अ+ अ-

काठमाडौँ। सरकारले पर्याप्त जनचेतना जगाउन नसक्दा ग्रामीण भेगका निम्न आर्थिक अवस्था भएका परिवारका सदस्यले विषालु च्याउ खाएर अकालमै ज्यान गुमाइरहेका छन् ।

पाँचथरको तुम्बेवा गाउँपालिका आङनाको गैरीगाउँका रामप्रसाद माङलाकलाई जेठ, २०७३ का दिन सम्झन पटक्कै मन छैन । त्यो बेला १६ वर्षको कलिलो उमेरमै उनले बुबा वीरेन्द्र, आमा पदममाया, दुई बहिनी बबिता र सोनी र ठूली आमा मनकुमारीलाई गुमाएका थिए । अस्पतालमा कठिन उपचारपछि रामप्रसाद र उनकी ९ वर्षकी बहिनीमात्र बचेका थिए ।

जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनको परिवारको ६ जना र ठूलीआमाको परिवारका चार जान बिरामी परेका थिए । जसमध्ये ५ जनाको मृत्यु भयो । “आमाले विषालु छैन भनेर च्याउ ल्याउनुभएको थियो होला, तर…,” राम त्यतिबेलाको घटना सम्झनै चाहन्नन् ।

उपचारपछि उनी र बहिनी दमकमा रहेका आफन्तकोमा ३ महिना बसे । “त्यतिबेला कक्षा–८ मा पढ्थेँ, बाआमा बितेपछि स्कुल छाडेँ, बहिनीलाई संस्थाले पढायो,” रामले आफ्नो भोगाइ सुनाउँदै भने, “गाउँ आएर गोलिया बोक्ने मजदुरी थालेँ, अहिले पनि त्यही गर्दै छु ।”

अहिले गाउँमै दुःख गरेर जीवनयापन गरिरहेका उनी जंगलमा च्याउ देख्नेबित्तिकै तर्सन्छन् । तर जंगली विषालु च्याउ खाएर ज्यान जाने क्रम भने अहिले पनि रोकिएको छैन । नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने पछिल्लो १७ वर्षमा विषालु च्याउ खाएर १ सय १८ जनाको मृत्यु भएको छ भने ४ सय ४३ जना बिरामी भएका छन् ।

वर्षासँगै जंगल, वारी तथा रूखमा च्याउ उम्रिन थालेका छन् । विगतझैं यसपल्ट पनि देशका विभिन्न ठाउँमा विषालु च्याउ खाएर बिरामी पर्ने तथा मृत्यु हुने घटना सार्वजनिक भइरहेका छन् । सरकारले पर्याप्त जनचेतना जगाउन नसक्दा ग्रामीण भेगका निम्न आर्थिक अवस्था भएका परिवारका सदस्यले विषालु च्याउ खाएर अकालमै ज्यान गुमाइरहेका छन् ।


जेठको पहिलो साता चितवनको इच्छामनकामना–१ मा एकै परिवारका तीन बालबालिकाको ज्यान गयो । नमुना चेपाङ (९), सञ्जय चेपाङ (११) र मनिता चेपाङ (१३) को मृत्यु भएको थियो ।

वडाध्यक्ष सन्तबहादुर मगरका अनुसार उनीहरू कमजोर आर्थिक अवस्था भएका परिवारका हुन् । “बुबाआमा मजदुरी गर्न जाने रहेछन्, घरमा केटाकेटीमात्र बस्ने,” उनले भने, “च्याउ खाएर सिकिस्त बिरामी भएको थाहा पाएपछि अस्पताल त लगियो, तर बच्न सकेनन् ।”

जेठमै जंगली च्याउका कारण पाल्पामा दुई महिला, एक पुरुष र एक बालकको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी भीमलाल भट्टराईका अनुसार १७ जना बिरामी परेका थिए । “यसअघि हाम्रोमा जंगली च्याउ खाएर मृत्यु हुने घटना नै भएको थिएन, बिरामी परेको थाहा पाएपछि एम्बुलेन्समा लगेर अस्पतालसम्म पु¥याए पनि ज्यान गयो,” रम्भा गाउँपालिकाका विष्णुप्रसाद भण्डारीले भने । गत जेठमा पाल्पामा ज्यान गुमाउनेमध्ये २ महिला रम्भाका हुन् ।

जेठ १२, मा बसेको प्रतिनिधिसभा बैठकका पाल्पाका सांसद सन्दिप रानाले जंगली च्याउबारे जनजागरण अभियान चलाउन सरकारलाई सुझाव दिए । “वर्षायाम सुरु भएदेखि पाल्पामात्र नभएर देशभरि नै जंगलको च्याउ खाने भएकाले र जंगल च्याउ विषादी भए नभएको छुट्याउन नसकेकोले सरकारले जनजागरण अभियान चलाओस्,” उनले भने, “प्रत्येक जिल्लामा यसको सर्कुलेसन गरोस् ।”

जंगली च्याउबाट बर्सेनि नागरिकको मृत्यु हुने र बिरामी पर्ने भए पनि यसलाई रोक्ने गरी संघीय, प्रदेश तथा स्थानीय तहले खासै काम गरेका छैनन् । संघीय सरकार मातहतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले च्याउसम्बन्धी सचेतनाका लागि वार्षिक रूपमा छुट्टै र लक्षित बजेट शीर्षक नै नरहेको जनाएको छ । “च्याउसम्बन्धी सचेतना भनेरै त्यस्तो विशेष कार्यक्रम छैन,” केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारीले भनिन् ।

केन्द्रका अनुसार विभिन्न स्वास्थ्य समस्या, महामारी तथा जनस्वास्थ्यका विषयमा सचेतना जगाउनका लागि रेडियो नेपाल र नेपाल टेलभिजनबाट स्वास्थ्य सन्देश उत्पादन तथा प्रसारणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा २ करोड १२ लाख रुपैयाँ विनियोजन भएको थियो ।

त्यही बजेटबाटै च्याउ खाएर मानिसको मृत्यु हुने समयमा विभिन्न स्थानमा सचेतना जगाउने काम गरेको केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदाले बताइन् । केन्द्रले विशेषगरी जंगली च्याउ उम्रिने र विषालु च्याउ खाएर बिरामी हुने जोखिम उच्च रहने मनसुन सिजनलाई नै लक्षित गरेर सचेतना फैलाउने काम गरेको उनको दाबी छ । वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारीले भनिन्, “सचेतना जगाउने ब्रोसर पनि बनाएका छौँ ।”

च्याउ खाएर मानिसको ज्यान गएका गाउँमा स्थानीय तहले पनि सचेतना कार्यक्रम गरेको पाइँदैन । पाल्पाको रम्भा गाउँपालिकाले जेठमा च्याउ खाएर मानिसको ज्यान गएपछि मात्रै सचेतनामूलक कार्यक्रम गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्वीकार गरे । गाउँमा दुई महिलाको ज्यान गएको घटनाले सजग गराएको बताउँदै उनले भने, “आगामी वर्षदेखि जंगली च्याउ प्रयोग गर्न हुँदैन भन्ने सचेतना कार्यक्रम अघि बढाउने भएका छौँ ।”

सचेतनाको अभाव र अन्धविश्वासका कारण बर्सेनि जंगली च्याउले ज्यान लिइरहेकाले सरकारले गरेको सचेतनाको काम पुग्दो नभएको मेची बहुमुखी क्याम्पस, झापाका उपप्राध्यापक अजय न्यौपाने बताउँछन । उनी भन्छन्, “यति ठुलो संख्यामा मृत्यु र बिरामी हुने घटना भए पनि पर्याप्त सचेतना भएको देखिँदैन, सरकारले ध्यान दिएको देखिँदैन ।”

च्याउसम्बन्धी अध्ययन गरिरहेका न्यौपाने जंगलको च्याउ प्रयोग गर्नै नहुने बताउँछन् । परम्परादेखि खाँदै आएका र च्याउ चिन्नेहरू पनि झुक्किने खतरा रहेको उनी बताउँछन् । “खानयोग्य र विषालु च्याउ चिन्न निकै गाह्रो कुरो हो, निकै जान्ने बुझ्ने अग्रजहरू पनि च्याउ चिन्नमा झुक्किने गरेको र दुर्घटना भएको सुन्न र पढन पाइन्छ,” उपप्राध्यापक अजय भन्छन्, “विषालु च्याउहरूमा विभिन्न खाले विषालु रसायन पाइन्छन्, जसले ज्यानै लिन्छ ।”

उनका आनुसार जंगली च्याउमा अमाटक्सिन, ओरेलानिन, जाइरोमिट्रिनजस्ता विषक्त रसायन पाइन्छ । जसले मानव शरीरमा प्रवेश गर्न साथ पेटमा गडबडी, वान्ता गराउने, छारे रोगझँै लक्षणको विकास, झाडापखाला लगाउने, चक्कर लगाउने र मिर्गौला फेल गराउने वा ज्यानसमेत जाने खतरा हुन्छ ।

जिल्ला अस्पताल पाँचथरमा कार्यरत डा. देव आशिष भट्टराई भन्छन्, “जंगली च्याउमा विभिन्न किसिका टक्सिन हुन्छन् । वाक्वाकी लाग्ने, वान्ता हुने, पखाला लाग्ने, चक्कर चल्ने, शरीर कमजोर हुने, र्‍याल काड्ने, चेतना गुमाउने लक्षण हुन्छ, बिरामीमा देखिएको लक्षणअनुसारको उपचार गर्नुपर्छ ।”

च्याउ खाएर बिरामी परेको व्यक्ति उपचारपछि निको भए पनि उसलाई दीर्घकालसम्म स्वास्थ्य समस्या हुने खतरा रहने डा. देव आशिष बताउँछन् । मिर्गौला, कलेजो, आन्द्रा तथा पाचन प्रणालीको समस्याका साथै मस्तिष्क र स्नायु प्रणालीमा समस्या आउन सक्छ ।

च्याउमा भएका विषालु रसायन तीव्र तापमा पनि नगल्ने भएकाले च्याउलाई उसिन्ने वा लामो समय पकाउँदा पनि विषजस्ताको तस्तै रहन्छ । त्यसैले जंगली च्याउ प्रयोग गर्दै नगर्न डा. देव आशिष र उपप्राध्यापक अजयको सुझाव छ ।

शिव देवकोट र हरिप्रसाद अर्यालको ‘वाइल्ड मसरुम अफ नेपाल’ शीर्षकको सन् २०२० मा प्रकाशित अनुसन्धानात्मक लेखमा उल्लेख भएअनुसार नेपालमा १ हजार २ सय ९१ प्रजातिका च्याउ अभिलेख गरिएका छन् । जसमध्ये १ सय ५९ प्रजाति मात्र खान योग्य छन् ।

उपप्राध्यापक अजय १ हजार २ सय ९५ प्रजाति अभिलेख भए पनि नेपालमा २१ हजार बढी प्रजाति रहेको अनुमान गर्छन् । उनी भन्छन्, “नेपालमा च्याउसम्बन्धी विस्तृत अध्ययन भएकै छैन, तसर्थ अझै पनि अभिलेख र अध्ययन हुन बाँकी धेरै विषालु च्याउहरू छन्, जसको सेवनले बर्सेनि आम नागरिकको ज्यान जाने गरेको छ ।”

यो सामग्री मूलरूपमा www.nimjn.org मा प्रकाशित भएको हो ।