१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

म्याग्दीका बनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि…

म्याग्दीका बनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि…
अ अ+ अ-

गलेश्वर । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् ।

विगतका वर्षमा भन्दा यसवर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थी घोडेपानी, पुनहिल, टोड्के, बेलढुङ्गा जस्ता लालीगुराँसका जङ्गलमा उक्लिएका हुन् ।

राउण्ड अन्नपूर्ण पदमार्गको प्रमुख आकर्षण मानिएको घोडेपानीमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भीड नै लाग्ने गरेको छ । यस याममा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ ।अहिले यहाँको जङ्गलमा लालीगुराँस फुलेर ढकमक्क भएकाले अझ बढी आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको स्थानीयवासीले बताएका छन् । आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय होटेल व्यवसायी खुसी भएका छन् । घोडेपानीका होटल व्यवसायी मीना गुरुङले पर्यटकले गर्दा प्राय: सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको बताउनुभयो ।

वसन्त ऋतुको आगमनसँगै प्रकृतिले पनि नयाँस्वरुप धारण गरेको छ । राताम्यै फुलेका लालीगुराँस र वन जङ्गलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ । उत्तरपट्टी चाँदी जस्तै सेता हिमाल हेर्दै गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक म्याग्दीका पर्यटकीयस्थल घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिकाको सोले, बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गाको रुइसेमा पुग्न थालेका छन् ।

यी ठाउँहरुमा गुराँसको ठूला जङ्गल छन् । नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जङ्गलमा रातो, सेतो, गुलावी, चिमालीलगायत नौ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । पृष्ठभूमिका हिमाल र लालीगुराँसको जङ्गलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै आन्तरिक तथा बाह्य पर्यटक मख्ख परेको स्थानीय युवा सञ्चारकर्मी सुरेन गुरुङले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घर पर्यटकस्तरका होटल हुन् । पर्यटकहरु आउन थालेपछि होटल व्यवसायी पनि खुसी भएका छन् ।  घोडेपानीको लालीगुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि हिमालको साथै सूर्योदय अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जङ्गललाई समेटेर समुदायस्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ ।

घोडेपानीका बासिन्दाले गुराँस बचाउन गुराँसका रूख नकाट्ने नियम बनाएका छन् । जथाभावी रूपमा काठ, दाउराका लागि रूख काट्दा गुराँसको जङ्गल मासिएपछि यस्तो नियम बनाएका हुन् । एक्यापको सहयोगमा तारबार लगाएर जङ्गलको घेराउ गरिएको घोडेपानीका बासिन्दा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष एवम् स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको जङ्गलमा राताम्मे फुलेको लालीगुँरासँग रमाउन विद्यार्थी र पर्यटक पुगेका छन् । गाउँमा रहेको शिख मावि वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्रमा पदमार्ग र सडक आसपासमै गुराँसले जङ्गल राताम्मे बनेका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया फागुन, चैत र वैशाखमा फुल्ने गर्दछ । म्याग्दीका वनमा अहिले ढकमक्क गुराँस फूलेर जङ्गलनै हराभरा भएका छन् । बोटभरी ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षित हुने भएकाले हरेकको मन तान्ने गरेको छ । वनैभरी ढकमक्क लालीगुराँस फुलेपछि गाउँबस्ती नै सुन्दर देखिएको छ ।

वनभरि फुलेका लालीगुराँसका फूल यहाँको प्राकृतिक वरदान मात्र होइन सुकाएर फूलको पत्र जडीबुटीका रूपमा व्यापार गरी आयआर्जन गर्न सकिने भए पनि यसतर्फ ध्यान जान नसकेको वन तथा वनपैदावर र वातावरणको क्षेत्रमा सक्रिय वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रमणि सापकोटाले बताउनुभयो । जण्डिस, आउँ, खोकी, कलेजो सुन्निएको, मुखको गन्ध हटाउनसमेत औषधि हुने लालीगुराँस वातावरणीय तथा पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण मानिएको छ।

म्याग्दीका करिब ८० प्रतिशतभन्दा बढी वनमा यसरी लालीगुराँस फुलेको पाइन्छ,। लालीगुराँसको बोटदेखि फुलसम्म विभिन्न औषधि निर्माणको लागि प्रयोग हुँदै आएको छ । म्याग्दीमा प्रशस्त लालीगुराँसको जङ्गल रहेकोले आगामी दिनमा प्रशस्त आम्दानीको स्रोत जुट्ने देखिन्छ ।

जिल्लाका विभिन्न स्थानमा लालीगुराँको जुस बनाउने उद्योग स्थापना गर्ने क्रम पनि बढ्दै गएको छ । प्रचारप्रसारको कमीको कारण यहाँका सामुदायिक वनमा फुलेका गुराँसका फुल बिक्री हुन सकेको छैन । गाउँघर गुराँसले सजिएसँगै गाउँमा पुग्ने जो कसैको पनि मन लोभ्याउने गरेको स्थानीयवासीले बताएका छन् । रासस