१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार २९.०१ अंकले घटेर नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार बराबरको शेयर कारोबार



अ+ अ-

काठमाडौं । शेयर कारोबार दुई दिन देखि लगातार बढेको कारोबार आज तेस्रो दिन भने करेक्सन भएको छ । यो दिन नेप्से परिसूचक १.१३ प्रतिशतले घटेर २९.०१ अंकमा पुगेको बजार २ हजार ५३२.४६ विन्दुमा झरेको छ । 

सोमबार ३७.४८ अंक बढेर २ हजार ५६१.४७ विन्दुमा बन्द भएको बजार मंगलबार २ हजार ५६२.४३ विन्दुदेखि खुला भएको थियो । कारोबार शुरु भएको ८ मिनेटमै २ हजार ५८५.१५ विन्दुमा पुगेको बजार घटेर बन्द भएको हो । यो दिन १२ बजेर २१ मिनेटपछि १ बजेर २ मिनेटसम्म टिएमएसमा समस्या आएको भन्दै कारोबार बन्द गरिएको थियो ।

नेप्सेले प्राविधिक समस्याका कारण कारोबार रोक्का भएकाले ३५ मिनेटको अवधि थप गरी ३ बजेर ३५ मिनेटसम्म कारोबार खुला गरेको छ । यसदिन ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४.८९ अंक घटेर ४६१.७० विन्दुमा झरेको छ ।

प्राविधिक समस्याकाबीच पनि यो दिन रू. ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार बराबरको शेयर कारोबार भएको छ । यसदिन १९४ वटा कम्पनीको ७१ हजार ११२ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर कारोबार भएको हो ।  

यसदिन सर्वाधिक रकमको शेयर कारोबार ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । उक्त कम्पनीको रू. ३४ करोड ७१ लाख ८२ हजार बराबरको ३ लाख २० हजार २९ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य पनि यस दिन प्रतिकित्ता रू. ३४ ले बढेर रू. १ हजार १२० कायम भएको छ ।

दैनिकरुपमा ऐतिहासिक रेकर्ड बनाइरहेको बजार दोहोरो अंकले घटेपनि जानकारहरुले यसलाई करेक्सनकोरुपमा लिएका छन् । बैंकिङ सेक्टर बल्ल बढ्न लागेको भन्दै उनिहरुले बजार करेक्सन हुदैं अघि बढ्ने विश्वास व्यक्त गरेका हुन् । साथै मंगलबारको कारोबार प्राविधिक समस्याबाट पनि प्रभावित भएको जानकारहरुको भनाइ छ ।

निरन्तर बढेको बजारमा अल्पकालिन लगानीकर्ताहरुले नाफा बुक गर्नु स्वभाविक हुने हुदाँ त्यसबाट बजार करेक्सन हुनुलाई सामान्य रुपमा लिन पनि उनिहरुले आग्रह गरेका छन् ।

मंगलबारको बजारबाट वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो दिन वित्त समूहको परिसूचक १.१ प्रतिशत बढेको हो भने लघुवित्त समूहको परिसूचक सर्वाधिक २.७८ प्रतिशत घटेको हो । वित्त समूहसँगै यो दिन विकास बैंक समूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ । 

कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक मंगलबार घटेको हो । यो दिन बैंकिङको ०.५३ प्रतिशत, व्यापारिकको १.६ प्रतिशत, होटलको १.५५ प्रतिशत, जलविद्युतको १.४९ प्रतिशत, निर्जीवन बीमाको १.७७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.६२ प्रतिशत, अन्यको १.६१ प्रतिशत, जीवन बीमाको १.४५ प्रतिशत र म्युचुअल फण्डको ०.१४ प्रतिशत परिसूचक घटेको हो ।

दोहोरो अंकले घटेको बजारमा तीन वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गुडवील फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्यमा यो दिन उच्च वृद्धि भएको हो ।

गुडवील फाइनानसको ९.९२ प्रतिशतले बढेर अन्तिम मूल्य रू. २८८, श्री इन्भेष्टमेण्ट फाइनान्सको ९.६५ प्रतिशत बढेर अन्तिम मूल्य रू. २५० र समृद्धि फाइनान्सको ९.५२ प्रतिशत बढेर अन्तिम मूल्य रू. १८४ पुगेको हो । यो दिन सपोर्ट माइक्रोफाइनान्स, निर्धन उत्थान र माउण्टेन इनर्जी नेपालको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

सपोर्ट माइक्रोफाइनान्सको ५.८२ प्रतिशतले घटेर अन्तिम मूल्य रू. २ हजार ३९७, निर्धन उत्थान लघुवित्तको ५.८१ प्रतिशत घटेर अन्तिम मूल्य रू. १ हजार ५३९ र माउण्टेन इनर्जीको ५.१९ प्रतिशत घटेर अन्तिम मूल्य रू. ६४० कायम भएको हो ।