२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको कारोबारको अन्तिम दिन नेप्से १६.११ अंकले ओरालो, कारोबार रकम भने बढ्यो



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १६.११ अंकले घटेर २ हजार ५२६.९२ विन्दुमा बन्द भएको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि १.६६ अंक घटेर ४६३.४७ विन्दुमा झरेको छ । 

नेप्से परिसूचकले समग्र धितोपत्र कारोबारको मापन गर्दछ भने सेन्सेटिभ इन्डेक्सले ठूला कम्पनीहरुको मात्र कारोबार मापन गर्दछ । २ हजार ५५२.३४ विन्दुदेखि खुलेको बजार २ हजार ५६५ विन्दुसम्म पुगेको थियो । साताको अन्तिम कारोबार दिन र बुधबार बढेको बजारबाट नाफा बुक गर्ने हावी हुँदा बजार प्रभावित बनेको हो ।

यसदिन २०६ वटा कम्पनीको ७२ हजार ७३७ पटकको व्यापारमा रू. ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार बराबरको १ करोड ६० लाख ५८ हजार ४५८ कित्रा शेयर कारोबार भएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार रू. ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार बराबरको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर कारोबार भएको थियो ।

यस दिन दोहोरो अंकले घटेको बजारमा चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य ५.०३ प्रतिशत अर्थात प्रतिकित्ता रू.९ ले बढेर अन्तिम मूल्य रू. १८८ पुगेको हो । बिहीबार विकास बैंक समूहको परिसूचक सर्वाधिक ०.७७ प्रतिशतले बढेको छ भने लघुवित्तको सर्वाधिक २.८८ प्रतिशतले घटेको छ । बिहीबार लाभांशकै कारण सपोर्ट लघुवित्तको शेयरमूल्य पनि सर्वाधिक १० प्रतिशत घटेको छ । यस वर्ष लाभांश नदिने सूचना बिहीबार सार्वजनिक भएसँगै उक्त कम्पनीको शेयरमा पनि विक्री चाप देखिएको थियो । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३५ ले घटेर अन्तिम मूल्य रू. २ हजार ११५ कायम भएको हो । 

यसदिन विकास बैंकसँगै बैंकिङ समूहको ०.६ प्रतिशत र म्युचुअल फण्डको ०.२२ प्रतिशत परिसूचक बढेको हो भने बाँकी समूहको घटेको छ । लघुवित्तसँगै व्यापारिकको १.३८ प्रतिशत, होटलको २.०१ प्रतिशत, जलविद्युतको १.३१ प्रतिशत, वित्तको १.५३ प्रतिशत, निर्जीवन बीमाको १.५६ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.८५ प्रतिशत, अन्यको १.०७ प्रतिशत र जीवन बीमा समूहको १.१६ प्रतिशत परिसूचक घटेको हो ।

बिहीबार कारोबार रकममा सर्वाधिक हिस्सा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त कम्पनीको रू. ५६ करोड ६३ लाख २९ हजार बराबरको २ लाख ८० हजार ३२९ कित्ता शेयर कारोबार भएको हो । बिहीबार गत वर्षको भन्दा २५ प्रतिशत कम २० प्रतिशत लाभांश प्रस्ताव गरेको उक्त कम्पनीको शेयर विक्री चापका कारण मूल्य पनि घटेको छ । गत वर्ष ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम लाभांशका कारण बिहीबार विक्री चाप हुँदा उक्त कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. २१९ ले घटेर कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ९७३ कायम भएको छ ।