• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौं सफलता ★   विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा ★   नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस र सेवा शुल्क भने यथावत ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा ★   गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा ★   नेपाललाई दोस्रो सफलता, सागर ढकालले लिए दुई विकेट ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

गठबन्धनको विश्वासभित्र रोपिएको अविश्वासको बीउ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनाभित्रै तीन वटा गठबन्धन फेरेर पनि संसद्मा विश्वासको मत कायमै राखेका छन् । तर उनको विश्वासको मत संख्या भने भारी गिरावट आएको छ । अहिले उनी झिनो बहुमतको साथमा छन् ।

प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिइरहँदा दाफ्नै सहकर्मीहरुबाट अविश्वासको सामना गर्नुपरेको छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को रोस्ट्रमबाटै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिसँग हातेमालोको प्रस्ताव गरे । सहकार्यका लागि ओलीले गरेको छलफलको प्रस्ताव देउवाले सहर्ष स्वीकारे । यो प्रधानमन्त्री दाहालको आफ्नै सहयात्री दलबाट पैदा भएको अविश्वास हो ।

एमाले अध्यक्ष ओलीले मात्र होइन, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले प्रधानमन्त्रीप्रति आक्रोस पोख । संविधानरक्षाका लागि पार्टीभित्रको व्यक्तिवादी चरित्रका विरुद्ध विद्रोह गरेर आफैंले बनाएको पार्टी तोडेर विष पिएर तपाईंको पक्षमा उभिँदा पनि बाटोमा छाडेर हिँडेको भन्दै प्रधानमन्त्रीप्रति आक्रोसपूर्ण अभिव्यक्ति दिए । उनले प्रधानमन्त्रीले आफूहरुलाई अलपत्र पार्नु यो भन्दा ठूलो अनैतिकता के हुन्छ भन्दै प्रश्न गरे । त्यति मात्र होइन, उनले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले घाँटी जोडे प्रधानमन्त्रीको हालत के हुन्छ भनेर चेतावनी पनि दिए । जबकी प्रधानमन्त्रीले विश्वासको मत मागिरहेका बेला उनलाई सुझावसहित मत दिने कि नदिने भन्ने स्पष्ट पार्नुपर्ने थियो । तर सहयात्री दल समाजवादीका नेताको यस्तो चेतावनीयुक्त सन्देशले प्रधानमन्त्री दाहाललाई झस्काएको छ ।

संसद्को बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरु एक ठाउँमा बसे दाहालको हविगत के होला ? भनेर प्रश्न गरे । उनको भनाइपछि एमाले अध्यक्ष ओलीको सहकार्यका लागि छलफलको प्रस्तावले त दाहालको मुटु हल्लाइसकेको छ । तत्काल शर्मा र ओलीले भने जस्तो नभएपछि जुनसुकै बेला यो गठबन्धनमा तलमाथी हुनसक्छ भन्ने दाहालले बुझेको छ ।

कुरा यतिमा मात्र सीमित छैन । सशक्त प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीविरुद्ध नयाँ समीकरणको कसरत जारी राखेको छ । दाहालले नयाँ गठबन्धन बनाएको भोलिपल्ट देखि नै कांग्रेस सभापति देउवाले गठबन्धनमा नरहेका दलहरुसँग सम्बन्ध बढाएका मात्र छैनन्, सत्ता गठबन्धनभित्रकै दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि फकाइ्हेका छन् । यो कुराको संकेत प्रधानमन्त्री दाहालले पाइसकेका छन् । अहिले जनता समाजवादी पार्टीले प्रधानमन्त्रीविरुद्ध अप्रिय बचन नलगाए पनि एकीकृत समाजवादीका नेताहरु ढाडै प्रधानमन्त्रीको आलोचना थालिसकेका छन् । त्यति मात्र होइन, एकीकृत समाजवादीले संसद्मा आफ्नो उपस्थितिभन्दा बढी भाग खोज्न थालिसकेको छ । संघीय संसद्मा दुई वटा मन्त्रालय पाएको एकीकृत समाजवादीले अब राष्ट्रिय सभाको उपाध्यक्ष र कुनै एउटा प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने माग गरिसकेको छ । त्यति मात्र होइन, १० सांसद् बोकेका अध्यक्ष माधवकुमार नेपाल आफू पनि यही कार्यकालमा केही समयका लागि भए पनि प्रधानमन्त्री बनाउन दबाब दिइरहेका छन् । यसले दाहालले गठबन्धनभित्र अर्को अविश्वास सामना गर्ने पर्ने देखिन्छ ।

त्यसो त प्रधानमन्त्री दाहाल पनि अरुले जे भन्यो त्यही मान्ने वाला छैनन् । आफू रहेसम्म देशमा राजनीतिक उथलपुथल भइरहने घोषणा गरेका दाहालले नयाँ नयाँ समीकरण र गठबन्धन गरेर अनुभवी र ठूला भन्ने दल कांग्रेस र एमालेलाई जिल्याइरहेका छन् । अब पनि उनले जुनसुकै बेला आफ्नो गठबन्धन नफेर्लान भन्न चाहिँ सकिँदैन । किनकी संसद्को बैठकमा आफूमाथि उठेका प्रश्न र गठबन्धनको विषयमा भएका टिका टिप्पणीलाई लिएर उनले गतिलै जवाफ फर्काएका छन् । कांग्रेस र एमाले मिलेर आफूहरुलाई हिजो पनि खेदेको र भोलिका दिन पनि खेदे कुनै नौलो नभएको बताए । उनले त्यति मात्र भनेनन्, गाली गरेर विश्वासको मत दिनु भन्दा नदिँदा पनि फरक नपर्ने धम्कीयुक्त भाषाको प्रयोग गरे ।

नेताहरुको विश्वास, अविश्वास, आरोप, प्रत्यारोप हेर्दा यो गठबन्धनको विश्वासभित्र अविश्वास पनि उत्तिकै देखिन्छ । अब त्यो अविश्वासको खाडल पुरिने हो वा झन् झाँगिनै जाने हो अहिले नै यकिन भन्न सकिँदैन । तर नेपालको राजनीतिक इतिहास हेर्ने हो भने विश्वासभित्र लुकेर बसेको अविश्वास नै कालान्तरमा झाँगिदै गएको देखिन्छ । अविश्वास कम भएर विश्वासको वातावरण बनेको इतिहास कमै छ । त्यसैले अहिले गठबन्धनभित्रको विश्वास र अविश्वास अब कुन रुपमा अघि बढ्छ त्यसले पनि भविष्य निर्धारण गर्न सक्छ ।

फोटो- रासस