म्याड्रिड । शनिबार स्पेनी ला लिगामा रियल म्याड्रिडले रियल भालाडोलिडलाई १–० ले हराएको छ । कासेमिरोले गरेको निर्णायक गोलमा रियल म्याड्रिडले जित हात पारेको हो । यससँगै टोलीले शीर्ष स्थानको छिमेकी एट्लेटिको म्याड्रिडसँगको दूरी तीन अंकमा छोट्यायो ।
ब्राजिली खेलाडीले हेडबाट ६५ औं मिनेटमा गोल गरेका थिए । टिमले एट्लेटिकोले यसअघि बेहोरेको हारको पूरा फाइदा लियो । यसअघि एट्लेटिको घरमै लेभान्टेसँग २–० ले पराजित भएको थियो ।
यो नतिजापछि एट्लेटिको २३ खेलबाट ५५ अंकमै सीमित रह्यो भने एक खेल बढी खेलेको रियलको ५२ अंक भएको छ । यो समीकरणले उपाधि–होड रोमाञ्चक हुने भएको छ । बार्सिलोना ४६ अंकसाथ तेस्रो स्थानमा छ । शनिबारका अन्य खेलमा एल्चेले आइबरलाई १–० र भ्यालेन्सियाले सेल्टा भिगोलाई २–० ले हराए ।