• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

माओवादी निर्णयले कांग्रेसमा हलचल, देउवा तनावमा !



file

काठमाडाैं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि कांग्रेसभित्र हलचल सिर्जना भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका बेला नै गठबन्धन दलबीच कांग्रेसलाई अध्यक्ष दिने सहमति भएको थियो । तर माओवादीले सहमतिविपरित आफैं उम्मेदवारी दिने निर्णय स्थायी कमिटीको बैठकबाटै गरेको हो ।

माओवादी केन्द्रको निर्णयले सत्तागठबन्धनमा नयाँ संकट थपिएको छ । राष्ट्रिय सभाको अध्यक्ष मात्र नभएर आगामी वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा पनि माओवादीले आफ्नै उम्मेदवार उठाउने भएको छ । यी दुवै क्षेत्रमा गतवर्ष भएको चुनावमा कांग्रेसका उम्मेदवारलाई माओवादीले सहयोग गरेको थियो । यस पटक पनि ती क्षेत्रमा माओवादीको सहयोग अपेक्षा कांग्रेसले राखेको छ ।

माओवादीले गठबन्धन दलहरुबीच भएको पूर्वसहमतिविपरित निर्णय गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा तनावमा परेका छन् । माओवादी आफ्नो निर्णयबाट पछि नहटे सत्ता गठबन्धन नै संकटमा पर्ने भय देउवामा छ । किनकी अब प्रधानमन्त्री बन्ने पालो देउवाको छ । माओवादीकै कारण गठबन्धन भत्किए आफू प्रधानमन्त्री बन्न नपाइने हो कि भन्ने चिन्ता देउवाको छ ।

त्यसो त माओवादी केन्द्रले गठबन्धनमा भएको सहमतिविपरित राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निणय त्यत्तिकै भने गरेको होइन । कांग्रेसले यसअघि पटकपटक धोका दिएका कारण अब राष्ट्रिय सभाको अध्यक्ष आफूले पाउनुपर्ने माग माओवादीको छ । कोशी प्रदेशको मुख्यमन्त्री, सभामुख र एक जना राष्ट्रिय सभा सदस्य कांग्रेसभित्रको अन्तरविरोधका कारण गुमाउनुपरेको पीडा माओवादीलाई छ । त्यसैगरी कांग्रेस महासमिति बैठकमा सहयात्री दललाई होच्याउने गरी भएको छलफलप्रति पनि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल असन्तुष्ट छन् । त्यसमाथि आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेसको नीतिगत निर्णयले दाहाल झन् दबाबमा छन् । त्यही कारण कांग्रेसको सेखी झार्न पनि उनले पार्टीबाटै राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्ने निर्णय गराएका हुन् ।

पार्टीले गरेको निर्णय बोकेर अध्यक्ष दाहालले अब कांग्रेससँग छलफल गर्ने तयारी गरेका छन् । यसले देउवालाई दबाब पुग्ने र सरकार सञ्चालनमा सहज वातावरण बनाउने चाहना उनको छ । पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने दायित्वमा रहेका दाहाललाई यही निर्णय देखाएर देउवालाई तर्साउने र आफ्नो सत्ता यात्रासमेत केही लम्ब्याउने रणनीति बनाएको हुनसक्ने विश्लेषण हुन थालेको छ ।

त्यसो त प्रधानमन्त्री दाहाल राजनीतिका चतुर खेलाडी हुन् । उनले अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धमा सुधार ल्याएका छन् । दुई नेताबीच पछिल्ला दिनमा पटकपटक भेटघाट भइरहेको छ । यो भेटघाटले पनि देउवालाई तनावमा पारेको छ । आफ्नो स्वार्थका लागि जतिसुकै बेला पार्टीभित्रबाट जे पनि निर्णय गराउन सक्ने क्षमताका दाहाल कतै ओलीसँग मिलेर आफूलाई अलग पार्ने हुन् कि भन्ने चिन्ता देउवाको छ ।

राष्ट्रिय सभाको अध्यक्षमा आफ्ना उम्मेदवारलाई जिताउन माओवादी केन्द्रले एमालेलाई फकाउन खोजिरहेको छ । माओवादीका दोस्रो तहका केही नेता पछिल्ला दिनमा एमालेका नेताहरुसँग निरन्तर संवादमा छन् । गठबन्धन फुटाउने बहाना खोजिरहेको एमालेले पनि माओवादीलाई हौसाउँदै छ । उसले राष्ट्रियसभामा माओवादीलाई सहयोग गर्ने बचनसमेत दिइसहेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा एमालेसँग जम्मा १० सांसद छन् । यो मतले आफ्नो उम्मेदवार जिताउन नसक्ने भएकाले गठबन्धनमा बिद्रोह ल्याउन माओवादी केन्द्रलाई समर्थन गर्न एमालेलाई कुनै समस्या छैन ।

माओवादीभित्रको एउटा समूह एमालेसँग गठबन्धन गर्नुपर्ने माग राख्दै आएको छ । एमालेसँग गठबन्धन गर्दा २०८४ सालको चुनावमा माओवादीलाई तुलनात्मक रुपमा बढी लाभ हुने विश्लेषण यो समूहको छ । माओवादीभित्रको एमाले निकट समूहले प्रधानमन्त्री दाहाललाई मनाउन सकेमा कांग्रेस राष्ट्रिय सभा चुनावमै एक्लिन सक्छ । यो भएमा निकट भविष्यमै आफ्नो पोल्टामा पर्न लागेको प्रधानमन्त्रीको पद खुस्किने हो कि भन्ने चिन्ताले देउवालाई सताएको देखिन्छ ।