१९ पुष २०८१, शुक्रबार
,
Latest
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति १९ वर्षमा ४१ प्रतिशत प्रगति, साढे सात अर्बको लागत ५३ अर्ब पुग्यो आज देशभरको मौसम सफा रहने पूर्वानुमान बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने: खानेपानीमन्त्री प्रदीप यादव प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता चिसो मौसममा आज अकस्मात किन तात्यो राजनीति ? ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिगानाका किसानले गरे सुन्तला बेचेर करोडौँ आम्दानी



अ+ अ-

गलकोट । बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर रु तीन करोड भित्राएका छन् ।

गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु ५० पर्न गएको छ ।

यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ ।

बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट रु तीन करोड भित्राउन सफल भएका हुन् । सहकारीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वर्ष सुन्तला बिक्रीबाट रु दुई करोड ७५ लाख भित्राइएको थियो । यस वर्ष रु तीन करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहेपनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन् ।

अहिले सहकारीले सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताउनुभयो । “गत वर्ष तीन करोडको अनुमान गरिएकामा सबै तथ्याङ्क रु दुई करोड ७५ लाख गाउँ भित्रिएको पाइयो”, उहाँले भन्नुभयो, “अहिले गत वर्ष भन्दा केही बढी आम्दानी भएको छ ।”

सिगाना गाउँको साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने खड्काले जानकारी दिनुभयो । “सहकारीमा मात्रै आबद्ध एक सय ५० किसान सुन्तला खेतीमा छन्”, उहाँले भन्नुभयो, “सहकारीमार्फत ४० हजार नयाँ बिरुवा अनुदानमा वितरण गरिरहेको थियो । अबको पाँच वर्षमा रु पाँच करोडको सुन्तला बिक्री गर्ने लक्ष्य रहेको छ ।”

आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गर्नुभएका अनन्तबहादुर खड्काले यस वर्ष पाँच लाख ५० हजारमा सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताउनुभयो । उहाँले यस वर्ष सुन्तलाको उत्पादन बढेपनि मुल्य भने पोहरकै भएकाले आम्दानी पनि उस्तै भएको बताउनुभयो ।

सिगानाका किसानले न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाखसम्म सुन्तलाको बिक्री गर्दै आएका छन् । खड्काका अनुसार पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीले यहाँका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजलको उचित व्यवस्था भए सुन्तालाको उत्पादन राम्रो हुने उहाँको भनाइ थियो ।

यसवर्ष सुन्तलाको दाना राम्रो फलेको भन्दै किसान रामबहादुर खड्काले अधिकांश किसानले बोट नै ठेक्कामा दिएका बताउनुभयो । उहाँका अनुसार नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक ५० लाखका दरले उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइराखेका छन् भने ४० हजारभन्दा बढी नयाँ बिरुवा हुर्किरहेका छन् ।

सुन्तला जोन क्षेत्रमा समेटिएको सिगानामा छ वर्ष अघिदेखि व्यावसायिक सुन्तला खेती वृद्धिका लागि अन्य रुख फडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो । अहिले प्रतिकिलो होलसेल मूल्य रु ५० देखि ६० का दरले बिक्री भइरहेको छ ।

सिगानाको बेसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ । सिगानासँगै बागलुङको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत स्थान सुन्तला खेतीका लागि उर्बर मानिन्छन् ।

जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार समग्र जिल्लामा यस वर्ष रु २० करोडको सुन्तला उत्पादन भएको छ । रासस