१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

ढुङ्गामा कला भर्दै गोविन्द बोटे

ढुङ्गामा कला भर्दै गोविन्द बोटे
अ अ+ अ-

मध्यविन्दु । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपर्नुभएको छ । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिनुभएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन थाल्नुभएको हो ।

बोटे टोलमा बस्दै आउनुभएका उहाँ पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गर्नुभएको छ । खोलाका ढुङ्गा ल्याएर आकर्षक मूर्ति कुद्नु उहाँको दैनिकी बनेको छ ।

“तीन दिनमा एउटा मूर्ति तयार पार्छु, आफ्नै हातले ढुङ्गालाई सुन्दर आकृति बनाउँदा निकै खुसी लाग्छ”, बोटेले भन्नुभयो, “यो कलाले आफू मरेर गए पनि युगैँयुगसम्म जीवन्त रहने हुँदा आफूले गरेको पेसाप्रति सन्तुष्ट छु ।”

बोटेलाई परिवारको पनि उत्तिकै साथ सहयोग रहेको छ । बोटे समुदायका उहाँलाई बुबाले खोलामा माछा मारेर जीविकोपार्जन गर्दै हुर्काएको अझै याद छ । बुबाले खोलामा गएर माछा मार्ने काम गोविन्दलाई कति पनि मन परेको थिएन । सानैदेखि चित्र कोर्न मन पराउने उहाँ ढुङ्गाको मूर्ति बनाउन थालेपछि यो नै अहिले व्यावसायिक पेसा बनेको छ ।

“अहिलेसम्म पाँच सयभन्दा बढी देवीदेवताको मूर्ति बनाइसकेको छु”, बोटेले भन्नुभयो, “१५ वटाभन्दा धेरै सालिक बनाएर बिक्री गरिसकेको छु ।” ढुङ्गामा आकृति कुद्ने काम चुनौतीपूर्ण रहेको गोविन्दको भनाइ छ । एकाग्र भएर छिनो र ढुङ्गासँग खोल्नुपर्ने हुँदा कहिलेकाहीँ आँखा र टाउको दुखे पनि यही काममा आनन्द मिलेको उहाँले बताउनुभयो ।

“सालिक बनाउन २० दिनसम्म लाग्छ, एउटा सालिक बनाएको रु ४५ हजारसम्म लिने गरेको छु”, उहाँले भन्नुभयो ।

हिजोआज गोविन्दलाई ढुङ्गा कुद्न २१ वर्षीय छोरा कमलले पनि साथ दिन थालेका छन् । उमेरले भर्खर युवावस्थामा लागेका कमलको सोख पनि बुबाको जस्तै मूर्तिकार बन्ने छ । कक्षा १० सम्म पढेका कमल केही समय भारत गएर काम पनि गरिसकेका छन् । त्यहाँको रहनसहन नमिलेपछि उनी पुन: घर फर्किए । अहिले बुबासँगै उनी पनि मूर्ति बनाउन सिकिरहेका छन् । पछिल्लो समय लोपोन्मुख हुँदै गएको ढुङ्गाको मूर्तिलाई संरक्षण गर्न पनि आफूले बुबासँग मूर्ति बनाउन सिकिरहेको कमल बताउँछन् ।

“सुरुमा योभन्दा अरुनै केही रोजगारी गरौँ भन्ने थियो तर अन्तभन्दा यही मूर्ति बनाउनु नै ठीक लागेर बुबासँग काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “ढुङ्गामा मूर्ति कुद्ने काम लोप भइसकेको छ यसको संरक्षण गर्नका लागि पनि मेहनत गरेको हुँ ।” बाबु छोरा गोविन्द र कमलले मूर्ति बनाउने पेसालाई थप व्यवस्थित बनाउन चाहेका छन् । यतिका वर्षबाट ढुङ्गाको मूर्ति बनाउने पेसामा आबद्ध रहेका बोटे परिवारलाई आजसम्म कुनै निकायको सहयोग नगरेको गुनासो गरेका छन् ।

“स्थानीय सरकारले ढुङ्गा कुँद्न आवश्यक पर्ने औजार सहयोग गरे राहत मिल्ने थियो”, गोविन्दले भन्नुभयो, “यो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि कुनै निकायले पहल गरे हुने हो ।” सबैले यो मेहनत र पेसालाई बुझिदिए यो कला बचाउन सकिने उहाँको विश्वास छ । अहिलेका युवा यो ढुङ्गाको काम गर्ने इच्छा नदेखाउँदा यो पेसा नै मर्ने हो कि भन्ने चिन्ता गोविन्दमा देखिन्छ ।

“यसमा मेहनत र लगनशीलता चाहिन्छ, यो सिकाएरभन्दा पनि आफ्नै मनदेखि आउनुपर्छ”, उहाँले भन्नुभयो, “ढुङ्गाको मूर्ति बनाउने कलालाई अहिलेका युवालाई पुस्तान्तरण गरी संरक्षण गर्नुपर्ने आवश्यकता छ ।” रासस