११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै

अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
अ अ+ अ-

सिरहा । धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ । यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बीउ भनेर रु ४५ प्रतिकिलोमा ४० किलो गहुँको बीउ ल्याई आठ कट्ठा खेतमा छर्नुभयो । छ दिनमा बीउ उम्रिएर नौ दिनमा दुई पात हुनुपर्ने गहुँ १५ दिन बित्दा पनि उम्रिएन ।

“मलखाद्य, ट्र्याक्टरको जोताइ, ज्याला सबै खेर गयो, खेत बाँझै रह्यो, मेरो त बिल्लीबाठै भयो हजुर, कसरी जहान, बालबच्चा पाल्ने ?”, यादवले भन्नुभयो, “हामी माटोमा परिश्रम गर्ने किसानमाथि यस्तो अन्याय गर्न हुन्छ र ? कस्ले दिने क्षतिपूर्ति ? हाम्रो आवाज कसले सुन्छ ?”

सोही वडाकी देवकुमारी यादवको पनि पीडा उस्तै छ । “भएको खेत पनि बाँझै रह्यो, धेरै फल्छ भनेर उन्नत बीउ सम्झेर ल्याएको, गहुँको बीउ नगरपालिकाले दियो तर नक्कली र पुरानो बीउ बाँडेछ, एउटा गेडो पनि उम्रिएन”, उहाँले भन्नुभयो, “नगरपालिकाले हामीलाई क्षतिपूर्ति दिनुपर्छ ।”

नगरपालिकाले किसानका लागि दुई पटक गरी अनुदानमा गहुँको बीउ वितरण गरेको थियो । अघिल्लो पटकमा साल्टट्रेनिङ कार्यालय लहानबाट बीउ खरिद गरी किसानलाई वितरण गरिएको थियो । उक्त बीउमा कुनै समस्या नभएको किसानले बताएका छन् । बीउको माग बढेपछि नगरपालिकाले नै सुनसरीको देवानगञ्जस्थित कुशवाहा बीज भण्डारबाट दोस्रो पटक गहुँको बीउ खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

उक्त आदित्य जातको एक सय १० क्विन्टल गहुँको प्रतिकिलो रू ४५ मा किसानलाई वितरण गरिएको थियो । सो बीउ लैजाने करिब पाँच सय ५० किसानको गहुँको बीउ नउम्रेपछि खेत बाँझै भएको हो । गहुँ नउमे्रपछि किसानको ट्र्याक्टर जोताइ खर्च, डिएपी मल र पोटास छरेको खर्च, ड्याङ बनाउन लागेको मजदुर खर्च र बीउ किनेको खर्च पनि डुबेको छ ।

अब दोहोर्‍याएर छर्न पनि गहुँको समय ढिलो भइसकेको छ । ढिलोगरी छरेको गहुँ मौसम नमिलेर नफल्ने र फागुन, चैतको पश्चिमी तातो वायुले गहुँको बाला नै सुकाइदिने किसानको भनाइ छ । पाँच सय ५० किसानको करिब एक सय १० बिघा जग्गा बाँझो रहँदा गहुँको उत्पादन न्यूनतम पनि दुई हजार दुई सय क्विन्टल नोक्सानी हुनेछ ।

कतिपय किसान दोहोर्‍याएर नयाँ बीउ खरिद गरी छर्ने तयारीमा छन् भने धेरैको खेत बाँझै हुने भएको छ । “खेती गर्दागर्दै कपाल सेतै भयो, तर यस्तो हत्ते कहिले आइलागेको थिएन”, ५७ वर्षीय किसान रासोभित यादवले भन्नुभयो, “सँगै छरेको जहुँ उम्रियो तर, गहँु उम्रिएन, फेरि गाउँमै रु ६० किलोका दरले अर्को बीउ किनी दोहोरो खर्च लगाएर छरेको छु, तर ढिलो लगाएको खेती उब्जनी होला भन्ने आशा कमै छ ।”

साल्टट्रेडिङको बीउ राम्रो भए तापनि पछिल्लो पटक सुनसरीबाट ल्याइएको बीउमा सिकायत देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवान बताउनुहुन्छ । “साल्टट्रेडिङको बीउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको छ, गहुँको बीउ माग्ने किसानको चाप बढेपछि पुन: रु ११ लाख बराबरको एक सय १० क्विन्टल गहुँको बीउ मगाइयो, तर पछिल्लो पटक आएको बीउमा धेरै सिकायत आयो, दैनिक दर्जनौँ किसान कृषि शाखा घेराउ गर्न आउँछन्, गहुँको बीउ उम्रिएन, क्षतिपूर्ति देउ भन्छन्, हामीले के गर्नु के नगर्नु ?, अप्ठ्यारोमा परेका छौँ”, पासवानले भन्नुभयो ।

नगर प्रमुख शिवशङ्कर महतो भने बाहिर हल्ला गरिएजस्तो अवस्था नरहेको बताउनुहुन्छ । गहुँको बीउ नक्कली भएको भन्ने आशङ्का नगर्नसमेत उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर बीउ खरिद गरिएको हो, दुई चार जना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको होला ।” खेत बाँझै हुने किसानको क्षतिपूर्ति सम्बन्धमा नगरप्रमुख महतोले क्षतिपूर्ति दिनै परे बीउको पैसा मिनाहा गरिदिने बताउनुभयो । उहाँले आफू काम विशेषले काठमाडौँमा भएको र केही दिनमा फर्केपछि यस सम्बन्धमा थप अध्ययन गर्ने जानकारी दिनुभयो ।

किसानबाटै कर उठाउने जनताको नजिकको सरकारले किसानलाई राहत दिनुको सट्टा यसरी आहत दिनु दु:खद् भएको राष्ट्रिय कृषि समूह महासङ्घ मधेस प्रदेशका निवर्तमान अध्यक्ष मुक्ति यादवको भनाइ छ । पालिकाको बीउ खरिद प्रक्रियालगायतमा सरोकारवालाको ध्यान पुग्नुपर्ने र आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन सबैले खबरदारी गर्नु आवश्यक रहेको यादवको भनाइ छ । रासस