८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान
अ अ+ अ-

झापा । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् । रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई उक्त जग्गामा रोपेर फलाइएको समितिका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिनुभयो ।

“वर्णशङ्कर बीउको विकास र प्रचलनका कारण पुराना रैथाने बाली लोप हुँदै गएका कारण तिनको संरक्षणमा हामी जुटेका हौँ”, उहाँले भन्नुभयो, “कालो नुनियाजस्ता लोप भइसकेका धानको विभिन्न प्रजातिलाई खोजेर फेरि किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ ।”

समितिले भाडामा लिएको खेतको एउटै गरामा ८१ प्रजातिका धानका बाला झुलिरहेको हेर्नका लागि कृषि विषय अध्ययन गरिरहेका विद्यार्थी र सर्वसाधारणसमेतको भीड लाग्ने गरेको छ । संरक्षण गर्न खेतमा फलाइएका रैथाने धान बालीमा कालो नुनियाका चार प्रजाति छन् । तीमध्ये कालो नुनिया–१ र कालो नुनिया–१० प्रजाति समिति आफैँले खोज गरेर सरकारी निकायमा नाम दर्ता गराएको हो ।

जुम्लामा फल्ने मार्सीदेखि पूर्वी पहाडको इलाममा पाइने दुधराज प्रजातिको धान उक्त खेतमा फलाइएको छ । बासमतीका रातो, पहेँलो, कालो र टुँडे प्रजातिका धानसमेत त्यहाँ फलाइएको छ । समितिले रैथाने धान फलाइएको खेतलाई ‘प्रदर्शनी ब्लक’ नाम दिएको छ ।

त्यहाँ फलेका धानमा कतारखेरा, कालो टुँडे बासमती, जङ्गली मन्सुली, रुद्राक्ष, जुङ्गे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफूल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रासधान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुत्ते, जर्नेली र घिउपुरी रहेका छन् ।

त्यसैगरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया–१, कालो नुनिया–१०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन–३, बङ्गलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघ जुङ्गे धान उक्त खेतमा फलेको छ ।

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ९ली–बर्ड० नामक गैरसरकारी संस्थाको सहयोगमा ती धानका रैथाने प्रजाति देशभरबाट सङ्कलन गरिएको समितिकी सहजकर्ता जानुका मगरले बताउनुभयो । रैथाने प्रजातिका धानको बीउ लोप हुन नदिन र किसानलाई रैथाने खेतीतर्फ आकर्षित गर्न एउटै खेतमा ८१ प्रजातिको धान फलाएर प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

विसं २०६५ मा समितिको स्थापना भएको र त्यसको एक वर्षपछि झापाको शिवसताक्षी वडा नं ७ मा रैथाने बालीको बीउ बैंक स्थापना गरिएको सहजकर्ता मगरले जानकारी दिनुभयो । खेतमा फलेको धानलाई बीउ बैंकमा राखेर इच्छुक किसानलाई खेतीका लागि वितरण गरिने भएको छ ।

सोही बीउ बैंकमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कार्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुङ्गे र एक जातिको पोथ्रे सिमी संरक्षण गरेर राखिएको छ ।

समितिले शिवसताक्षी वडा नं ६ र ७ का एक हजार ७० जना किसानलाई २२ समूहमा सङ्गठित गरेर संस्थाको सदस्य बनाएको छ । ती सदस्यलाई समितिले रैथाने जातका अन्न र लहरे तरकारी बालीको बीउ उपलब्ध गराउँदै आएको छ । सदस्यले उत्पादन गरेको रैथाने बाली संस्थाले खरिद गर्दै आएको छ । किसानबाट वार्षिकरूपमा खरिद गर्दै आएको ७५ मेट्रिक टन बालीलाई प्रशोधन र उमारशक्ति परीक्षण गरेर अन्य किसानलाई सहुलियत मूल्यमा बिक्रीसमेत गर्दै आएको सहजकर्ता मगरले बताउनुभयो ।

लोप हुँदै आएको रैथाने बालीलाई संरक्षण गरेर कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले मुलुकको कृषि क्षेत्रलाई नै योगदान पुर्याइरहेको शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीले बताउनुभयो । नगरपालिकाले संस्थाको रचनात्मक कार्यमा प्रोत्साहन दिइरहेकोसमेत उहाँले बताउनुभयो । रासस