काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीन सरकारबाट विगतमा झैं अझै सहयोग र समर्थन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले सङ्घीय संसद् नेपाल र चिनियाँ जनकंग्रेसबीचको सहकार्य तथा आपसी भ्रमणमा देखिएको कमीलाई पूरा गर्न आग्रह गर्नुभएको छ ।
‘रे मिडिया ग्रुप’ले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षः सम्झना र समीक्षा’ कार्यक्रममा ‘अजम्बरी साइनो’ पुस्तकको लोकार्पण गर्दै अध्यक्ष दाहालले नेपालमा संविधानसभाबाट जननिर्वाचित प्रतिनिधिले समानुपातिक, समावेशी, धर्मनिरपेक्षतासहितको समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन सफल भएकोप्रति गर्व गर्नुभयो ।
अघिल्लो वर्ष मात्रै सङ्घीय संसद्का दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन सर्वसम्मत रुपमा पारित भएको उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले विश्वभरिबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गबाट टुङ्ग्याउन सफल भएकामा प्रशंसा भइरहेको उल्लेख गर्दै अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रूपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरू विकल्प नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली समाजमा केही प्रश्न उठाएको छ, मुख्यतः भ्रष्टाचारको अन्त्य गरी सामाजिक न्यायसहितको सुशासन कायम गर्ने भन्ने प्रश्न हो । आन्दोलनबाट नेपालका मुख्यमुख्य राष्ट्रिय सम्पदा र गैरसरकारी संरचनामा भएको बर्बर आक्रमण तथा क्षतिले सिँगो देश स्तब्ध भएको छ ।”
प्रतिनिधिसभाको विघटनसँगै बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । “बिना धाँधली भयरहित वातावरणमा निर्वाचन गराउने मुख्य दायित्व सरकारको हो, त्यसमा सम्पूर्ण नेपाली जनता र विदेशी मित्रराष्ट्रलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
टेलिभिजनले स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, मानवअधिकारको संरक्षण, कृषि, पर्यटन, स्वास्थ्य, भाषा तथा लोक संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम तथा समाचार उत्पादन एवं प्रसारण गरिरहेको अध्यक्ष दाहाललको भनाइ थियो ।










