सिरहा। मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा वक्ताले जोड दिएका छन् ।
मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आज लहानमा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठी कार्यक्रममा उनीहरूले सञ्चार क्षेत्रले भोग्दै आएका समस्या समाधानमा राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका हुन् ।
प्रमुख अतिथि मधेस–प्रदेशसभा सदस्य जीवछी यादवले लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र र उत्तरदायी मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पत्रकारको सुरक्षादेखि पेशागत अधिकारसम्म राज्यले ध्यान दिनुपर्ने बताउनुभायो । उहाँले भन्नुभयो, “लोकतन्त्रको मेरुदण्ड मिडिया हो ।
स्वतन्त्र, सक्षम र जिम्मेवार मिडिया बिना सुशासन सम्भव हुँदैन । आज सञ्चार माध्यमहरू आर्थिक संकट, सुरक्षा चुनौती र नीतिगत अस्पष्टताबाट गुज्रिरहेका छन् । यस्ता समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले गम्भीर भएर ठोस नीति र कार्यक्रम ल्याउनुपर्छ ।”
मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्र खड्गाले सञ्चार माध्यमहरू आर्थिक, प्रविधिगत र नीतिगत चुनौतीमा रहेको भन्दै सरकारी नीति तथा कार्यक्रममार्फत मिडियालाई सशक्त बनाइनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै, मधेस प्रदेश मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेशकुमार यादवले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन काउन्सिलले आमसञ्चार प्राधिकरणलगायत विभिन्न निकायहरुसँग समन्वय र सहकार्यको नीति लिएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका उपाध्यक्ष अम्बिका दाहालले इमान्दार भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै पत्रकार आचारसंहितालाई ध्यान दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव र सप्तरी शाखाका अध्यक्ष श्रवण देवले स्थानीय सञ्चार माध्यमहरू टिकाइराख्न विज्ञापन नीति, क्षमता अभिवृद्धि तथा पत्रकारको सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।










