आइसिसी विश्वकप क्रिकेट अन्तर्गत भारतको लखनऊमा आज भएको खेलमा भारतले डिफेन्डिङ च्याम्पियन इङल्यान्डलाई १०० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
यस विश्वकपमा भारतको यो लगातार छैटौं जित हो । जितसँगै भारतले ६ खेलबाट १२ अंक हासिल गर्दै पहिलो स्थान ओगट्न सफल भएको छ । उता लगातार ५ हारबाट निराश बनेको इङल्यान्ड भने एक खेल जितेर २ अंक सहित लिगको पुछारमा छ ।
आइतबारको खेलमा टस जितेर इङल्यान्डले पहिले क्षेत्र रक्षण रोजेको थियो । सुस्त पिचमा भारतले ९ विकेट गुमाएर संघर्षपूर्ण २२९ रन मात्र बनाउन सकेको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८१ रनको महत्वपूर्ण पारि खेलेका थिए ।
अन्य ब्याट्सम्यानमा के एल राहुलले ३९, सूर्यकुमार यादवले ४९ रन बनाएका थिए । अन्य सबै ब्याट्सम्यान झिनो रन बनाएर आउट भएका थिए ।
२३० रनको चुनौती पाएको इङल्यान्ड ३४.५ ओभर खेल्दै १२९ रनमै समेटिएको थियो । टिमका लागि लियाम लिभिङस्टनले सर्वाधिक २७ रन बनाएका थिए ।
भारतीय बलरहरु मोहम्मद शामीले ४, जस्प्रीत बुम्राहाले ३, कुलदीप यादवले २ र रविन्द्र जडेजाले १ विकेट लिएका थिए ।
चालु यस विश्वकपमा इङल्यान्ड टिमले ब्याटिङ र बलिङ दुबैमा कुनै खास प्रभावशाली खेल प्रदर्शन गर्न सकेको छैन । आजको हारपछि इङल्यान्ड टिम विश्वकपबाट लगभग बाहिरिएको छ ।